Erani Mahal
तानसेनकाे आगामी बजेट, नीति तथा कार्यक्रमबारे पत्रकारहरूसँग छलफल
tansendd
पाल्पा – तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट नीति निर्माण तथा योजना सम्बन्धमा पाल्पाका पत्रकारहरूसँग छलफल गरेको छ । पाल्पाका संचारसंस्थाका प्रमुख, विभिन्न पेशागत संघसंगठनका प्रमुखहरूसँग तानसेन नगरपालिकाले आगामी बजेट, नीति तथा कार्यक्रमका विषयमा छलफल गरेको हो । बिहीबार तानसेन नगरपालिकाको मिनि हलमा भएको छलफलमा तानसेन नगरपापालिकाका प्रमुख अशोककुमार शाहीले तानसेनले हालसम्म गरेका उपलब्धी, अल्पकालिन र दीर्घकालिन योजनाका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा शाहीले तानसेन नगरपालिकाले आगामी आवमा एक अर्बभन्दा बढीको बजेट ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले तानसेनको बसपार्क, टुडिखेल सौन्दर्यकरण, श्रीनगरको सुधार, बीग बुद्ध, हरेक वडामा पक्की बाटो निर्माणको कामलाई नगरपालिकाले प्राथमिकता दिने बताउनुभयो । उहाँले बजेटको आकार ठूलो भएपनि ६० प्रतिशतभन्दा बढी बजेट चालु खर्चमै जाने बताउनुभयो । नगर प्रमुख शाहीले तानसेनको समृद्धि र विकासमा संचारक्षेत्रको निरन्तर खबरदारी र सहयोग रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारहरुबाट आएका सुझाव आगामी वर्षमा निर्माण हुन लागेको योजना तथा बजेटका लागि सकारात्मक सुझाव भएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बजेट कार्यान्वयनलाई सुधार गर्दै नगरबासीको अपेक्षा अनुसार काम गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले तानसेनको चार वटा प्रोजेक्टमा नीजि क्षेत्रले समेत सहकार्य गर्न लागेको बताउँदै त्यसले तानसेनको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम राना, बरिष्ठ पत्रकार मेघराज शर्मा, पूर्व अध्यक्ष झपेन्द्र गहिरे, निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल, महासंघका उपाध्यक्ष भरत शर्मा, यज्ञमूर्ति तिमिल्सिना, राजेन्द्र लिगल, माधव अर्याल, देव पचभैया, नारायण न्यौपाने, विष्णु घिमिरे लगायतले बोल्नुभएको थियो । कार्यक्रमम नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले नगरपालिकाको प्रेस नोट वाचन गर्नुभएको थियो । कार्यक्रम नगर उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत र नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षता र प्रेस सल्लाहकार गोविन्द भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update