Erani Mahal
भैरवस्थानका पहिरोमा पुरिएका भट्टराइ परिवारलाइ राहत वितरण
Rahat Bitaran Photo
पाल्पा - अविरल वर्षातसँगै पहिरोमा पुरिएर निधन भएका भैरवस्थानका मदन भट्टराईको परिवारलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले राहत प्रदान गर्नुभएको छ । बुधबार जिल्लाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा पहिरोले पुरिएर मृत्यु भएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले समवेदना व्यक्त गर्दै राहतस्वरुप २० हजार नगदसहित खाद्यान्न र लत्ताकपडा सहयोग गर्नुभएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले नगदसहित त्रिपाल, कम्मल, लत्ताकपडा, भाँडाकुँडा लगायत खाद्यान्न सामग्री मृतकको आमालाई प्रदान गर्नुभएको छ । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी पाण्डेले वडाबाट आवश्यक कागजात प्रक्रिया पुग्नेवित्तिकै जिल्ला विपद् व्यवस्थापन समितिले परिवारलाई २ लाख रुपैंया थप राहत प्रदान गर्ने बताउनुभयो । उहाँले तत्काल पहिरो पीडितका परिवारका लागि विपद्मा केही राहत मिलोस् भनेर पीडितको परिवारमै पुगेर सहयोग प्रदान गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । अविरल वर्षाको कारण आफ्नै घरमाथिबाट आएको पहिरोले पुरिँदा भैरवस्थानका १९ वर्षिय किशोर मदन भट्टराईको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update