Erani Mahal
अविरल वर्षातसँगै शालीग्राम सहित सेतीवेणीका एक दर्जन घर डुबानमा
duban-parbat
स्याङ्जा - अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ः ०० बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी पस्न गई एक दर्जन घर डुबानमा परेका हुन् । मानिसलाई समयमै सुरक्षित स्थानमा सारिएकाले घर डुबानमा परे पनि मानवीय तथा चौपायाको क्षति हुन पाएको छैन । बाढीका कारण आठ घर पूर्णरुपमा क्षति भएका छन् भने स्थानीय बासिन्दा, प्रहरी, स्थानीय जनप्रतिनिधि, रेडक्रसको सहकार्यमा उद्धार कार्य जारी राखिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयाे । स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको सेतीवेणी बजार कालीगण्डकी र सेती खोलाको किनारमा अवस्थित छ । कालीगण्डकीमा पानीको बहाव बढ्नासाथै सेतीखोलामा पानीको सतह बढ्ने भएकाले यो ठाउँ वर्षेनि डुबानमा पर्ने गरेको छ । स्याङ्जातर्फको गल्याङ–५ सेतीवेणी बजार डुबानमा पर्दा आठ घरमा पूर्णरुपमा क्षति पुगेको छभने २४ जना विस्थापित भएका छन् । कालीगण्डकी र सेतीखोलाले हरेक वर्षा बहाव परिवर्तन गर्दा सेतीवेणी बजारको केही क्षेत्र र कालीगण्डकी शिला कहिले पर्वत त कहिले स्याङ्जा जिल्लातर्फ पर्ने गरेको छ । कहिले कुन कहिले कुन जिल्लामा पर्ने भएकोले पनि डुबानको समस्या समाधान गर्न कुनै जिल्लाले पनि प्रभावकारी कदम नचालेको स्थानीय गोपाल शर्माले गुनासो गर्नुभयाे । उहाँका अनुसार मंगलबार बिहान सबेरैदेखि बजारक्षेत्रमा पानीको सतह पसेको हो । ‘नदीको सतह अहिले पनि बढिरहेको छ,’ उहाँले भन्नुभयाे, ‘साँझसम्म यस्तै हुने हो भने बजारक्षेत्रका धेरै घर खतरामा हुन्छन् ।’ उहाँका अनुसार बजारका करिब एक दर्जन घर डुबानमा परिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update