Erani Mahal
पाल्पाकाे सत्यवती तालसम्म पुग्न केबलकार संचालन हुने
satyabati-tall
पाल्पा – पाल्पाको धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थल सत्यवतीसम्म केबुलकारको पहुँच बिस्तार गर्ने तयारी गरिएको छ । जिल्लामा पहिलो पटक निजी क्षेत्रको लगानीमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ राजमार्गदेखि सत्यवतीसम्म केबुलकार बिस्तार गर्ने तयारी गरिएको हो । सिद्धार्थ राजमार्गको तिनाउ–५, चौबिसमाइलदेखि सोही गाउँपालिकाको वडा नं. ४ को सत्यवतीसम्म करिब एक हजार ३५० मीटर लामो केबुलकारको बिस्तार गरिने लगानीकर्ताले जनाएका छन् । यहाँ केबुलकार सहित अन्य संरचना तयार गर्न एक अर्ब १० करोड लगानी गरिने सत्यवती दर्शन प्रालिका सञ्चालक डिल्लीराम बस्यालले बताउनुभयो । सत्यवती ताल मन्दिर र त्यस क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रबद्र्धन गर्न केबुलकार स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । हालसम्म केबलकार निर्माणका लागि डीपीआर तयार भईसकेको, केबलकारसहित होटल, बगैँचा र अन्य पूर्वाधारका लागि आवश्यक जग्गा खरिदको काम सकिएको बस्यालले बताउनुभयो । कोरोना सङ्क्रमणको महामारी सकिएलगत्तै केबुलकार, होटल तथा बगैँचा लगायतको संरचना निर्माण हुने उहाँले उल्लेख गर्नुभयो । केबुलकारको संरचना निर्माण सुरु गरेको डेढ वर्षभित्र सबै काम सकिने गरी काम थाल्ने लगानीकर्ताले जनाएका छन् । नेपालकै सन्दर्भमा फरक विशेषता सहितको धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले स्वदेश तथा विदेशमा क्रियाशिल सात जना व्यवसायीले यहाँ लगानी गर्न सहमत जनाएको बस्यालले बताउनुभयो । केबुलकार निर्माणपछि हरेक दिन सत्यवतीसम्म सयौँ आन्तरिक तथा बाह्य (खास गरेर भारत) पर्यटक भित्रिने लगानीकर्ताको दावी रहेको छ । त्यस क्षेत्रमा पर्यटक आकर्षित गर्न तिनाउ गाउँपालिका, लुम्विनी प्रदेश सरकार र सङ्घीय सरकारले सडक, मन्दिर लगायतको पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ । सत्यवती ताल क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्र बनाउन निजी क्षेत्र र तीन तहका सरकारको क्षेत्रबाट लगानी हुँदै आएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिनुभयो । [caption id="attachment_18824" align="alignnone" width="768"] परम्परादेखि नै सत्यवती मन्दिरमा पुगेका हरेक भक्तजनले चिच्याएर बर माग्ने परम्परा छ । यो परम्परा नेपालमा मात्र नभएर विश्वमै फरक रहेकाले केबलकार निर्माणपछि सत्यवती क्षेत्रमा भक्तजनको आकर्षण थपिने तिनाउ गाउँपालिका वडा नं. ४ का अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । परम्परादेखि नै चिच्याएर बर मागे मात्र मागेका बर सत्यवती बज्यैले पूरा गरिदिने धार्मिक विस्वास रहदैँ आएको उहाँले बताउनुभयो । धार्मिक रुपमा मात्र होइन, पर्यापर्यटनका दृष्टिले समेत सत्यवती ताल क्षेत्र चारैतर्फ करिब पाँच सय मिटर फराकिलो ताल घना जङ्गलले घेरिएको छ । हरेक वर्ष कात्तिक पूर्णिमाको भोलिपल्ट यहाँ चिच्याएर बर माग्ने मेला लाग्ने गर्दछ । पर्यटकीय पूर्वाधार निर्माणले सत्यवतीमा वर्षभरि नै पर्यटकको पहुँच पुग्ने स्थानीय बासिन्दाको भनाई छ ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update