Erani Mahal
तानसेन नपाकाे समन्वयमा प्राप्त स्वास्थ्य सामग्री मिसन अस्पताललाई हस्तान्तरण
tttt
पाल्पा – सीआरएस नेपालको सहयोगमा तानसेनस्थित युनाइटेड मिसन अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । तानसेन नगरपालिकाको समन्वयमा प्राप्त स्वास्थ्य सामग्री मिसन अस्पतालका निर्देशक डा. रचेल कारखलाई नगरप्रमुख अशोककुमार शाहीले हस्तान्तरण गर्नुभयो । कोरोना बिरुद्धको लडाईमा आवश्यक पर्ने स्वास्थ्य सामग्री अक्सिजन कन्सन्टेटर, अस्पताललाई आवश्यक पर्ने बेडसेट, पीपीई, मास्क, ग्लोब्स, आइसोलेसन गाउन सहयोग गरिएको हो । यस्तै पल्स अक्सिमिटर, निबुलाइजर, साबुन, गमबुट, बडी ब्याग, फेससिल्ड थर्मोमिटर लगायत गरी २६ प्रकारका स्वास्थ्य सामग्री मिसन अस्पताललाई हस्तान्तरण गरिएको हो । अस्पतालका लागि १६ लाख १३ हजार ६०९ रुपियाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नगर प्रमुख शाहीले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख शाहीले कोरोनाको महामारी बिरुद्ध लड्न सिआरएस नेपालले स्वास्थ्य सामग्री सहयोग गरेकोमा संस्थालाइ धन्यवाद दिनुभयो । उहाँले कोरोना महामारी बिरुद्ध लड्न मिसन अस्पतालको महत्वपूर्ण भूमिका रहेकाले नगरपालिकाको सहकार्य र समन्वय गरेर प्राप्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले सबैको सहकार्य र सहयोगमा मात्र काेराेनालाइ जित्न सकिने उल्लेख गर्नुभयाे । स्वास्थ्य सामग्री ग्रहण गर्नुहुँदै मिसन अस्पतालका निर्देशक डा. रचेल कारखले अस्पताललाई प्राप्त भएको स्वास्थ्य सामग्रीले कोरोना बिरुद्धकाे लडाइ लड्न हौसला मिलेको बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले समेत बोल्नुभएको थियो । कार्यक्रम नगरप्रमुख शाहीको अध्यक्षता र सामाजिक शाखा प्रमुख भरत आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update