Erani Mahal
पाल्पाका बजारमा अनुमति विनाका सेनिटाइजर छ्याप्छ्याप्ती !
Hand-Sanitizer
पाल्पा - जिल्ला सदरमुकाम तानसेन लगायत पाल्पाका ग्रामिण क्षेत्रमा समेत अनुमति नलिइ बेचिएका सेनिटाइजर र माक्स छ्याप्छ्याप्ती भेटिएको छ । अनुगमन गर्ने निकायको बेलैमा अनुगमन नहुँदा गाउँ गाउँसम्म इजाजत विनाको सेनिटाइजर र माक्सहरु विक्री वितरण भएको हो । पाल्पाका गाउँ गाउँसम्म औषधी व्यवस्था विभागमा अनुमति स्वीकृति विना उत्पादन गरिएका सेनिटाइजरहरु विक्री वितरण गरेको पाइएको हो । औषधी विभागमा कुनै पनि स्वास्थ्य सामग्री उत्पादन र विक्री वितरण गर्नुपूर्व दर्ता गरी इजाजत लिनुपर्नेमा त्यसो नगरी केही कम्पनीबाट उत्पादन गरिएका सेनिटाइजर विक्री वितरण गरेको बजार अनुगमनकाे क्रममा पाइएको हाे । बजारका औषधी पसल, मार्ट, तरकारी पसलमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रशासनले अनुगमन गरी बेचिएका सेनिटाइजरहरु जफत समेत गरेको छ । मन्त्रालय र औषधि व्यवस्था विभागकाे निर्देशन अनुसार अनुमति प्राप्त स्यानिटाइजर मात्र बिक्रीका लागि स्वीकृति दिइएकाे अन्य स्यानिटाइजर जफत गरिएकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयाे । उहाँले औषधि व्यवस्था विभागबाट स्वीकृत प्राप्त ६१ कम्पनीबाट उत्पादन भएका स्यानिटाइजरकाे मात्र बिक्री वितरण गर्न पसललाइ निर्देशन दिइएकाे बताउनुभयाे । पाल्पाका बजारहरुमा भ्यान तथा मोटरसाइकलमा छिमेकी जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतलगायतका स्थानबाट सेनिटाइजर र माक्स ल्याएर विक्री वितरण भइरहँदा समेत प्रशासनले समयमै अनुगमन गर्न नसकेको एक औषधी व्यवसायीले नाम नलेख्ने सर्तमा भन्नुभयो, पहिले वास्तै नगरी छाड्ने अहिले अनुगमन गरेर केही अर्थ भएन । प्रशासनले इजाजत विनाका सेनिटाइजरहरु ७५ लिटर बढी जफत गरेको छ । प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, नगरपालिका, प्रहरी आदिको समन्यवमा प्रशासनले अहिले बजार अनुगमन समेत तीव्र बनाएको छ । यस अघि रैनादेवी छहरामा समेत यस्तै अवैधानिक सेनिटाइजर विक्री वितरण भएको पाइएको थियो । जहाँ तही सेनिटाइजर र माक्सको कारोवार औषधी पसलको अलावा अहिले बजारमा तरकारी पसल, फेन्सी, किराना, स्टेशनरी, कस्मेटिक्स जता सुकै माक्स र सेनिटाइजरको विक्री वितरण भइरहेको छ । औषधी पसल वा इजाजत प्राप्त संस्था बाहेक अन्य क्षेत्रमा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री विक्री वितरण गर्न पाइने नपाइने के हो ? त्यस विषयमा भने निकायहरुको ध्यान जान सकेको छैन ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update