Erani Mahal
अमेरिकामा रहेका पाल्पालीहरूद्वारा २० वटा अक्सिजन कन्सेन्ट्रेटर सहयाेग
corona11
पाल्पा – अमेरिकामा रहेका पाल्पालीहरूले जिल्लाका आठ स्थानीय तह र पाल्पा अस्पताललाई २० वटा अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेका छन् । अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमित बिरामीलाई उपचार गर्न आवश्यक पर्ने उपकरण (अक्सिजन) कन्सेन्ट्रेटर सहयोग गरेको उनीहरूले बताएका छन् । पाल्पाली सङ्गम अमेरिकाको अभियानबाट सङ्कलित १५ हजार अमेरिकी डलरमध्ये केही रकमबाट कोरोना सङ्क्रमित बिरामीको उपचारमा गर्न सहयोग गर्ने उपकरण अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको अभियान्ता सतीस चापागाईले बताउनुभयो । पाल्पामा कोरोना संक्रमण भयाबह भएको र कोरोना सङ्क्रमित बिरामीको उपचार गर्न अक्सिजनको अभाव भएकाले आफूहरूले अक्सिजन कन्सेन्ट्रेटर सहितका स्वास्थ्य सामग्री जिल्लामा पठाएकोे उहाँले बताउनुभयो । अमेरिकामा रहेका ९५ जना पाल्पालीहरूबाट सहयोग रकम सङ्कलन गरिएको थियो । सङ्गमले गुल्कोमिटर, पल्ससेट मेसिन र अक्सिजन सिलिण्डर समेत उपलब्ध गराउने योजना रहेको अभियान्ता महेश भट्टराईले जानकारी दिनुभयो । अमेरिकामा बसोबास गर्ने पाल्पालीले पठाएका कन्सेन्ट्रेटर पाल्पाली सङ्गम मार्फत जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा बिहीबार ८ वटा स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्यमा प्राप्त भएका कन्सेन्ट्रेटर जिल्लाका आठ वटा स्थानीय तहका कोरोना अस्पताल र पाल्पा अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । उहाँका अनुसार उक्त अक्सिजन कन्सन्ट्रेटरबाट प्रतिमिनेट ६ लिटर अक्सिजन उत्पादन हुन्छ । यसबाट कोरोना संक्रमित भई अक्सिजन आवश्यक पर्ने बिरामीको उपचारमा सहज हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण चौधरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update