Erani Mahal
निषेधाज्ञा अबधिमा पाल्पाकाे कुन स्थानीय तहमा कति काेराेना परीक्षण भयाे ?
oo
पाल्पा – कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको नियन्त्रण गर्न पाल्पामा २०७८ बैशाख १७ गतेदेखि निषेधाज्ञा गरियो । र निषेधाज्ञा हालसम्म जारी छ । निषेधाज्ञा जारी राखेको एक महिना पुग्न केही दिनमात्र बाँकी छ । यो अबधिमा कोरोना नियन्त्रणका लागि पाल्पाका स्थानीय तहहरूले विभिन्न तवरबाट काम गरिरहेको बताएका छन् । स्थानीय तहमा कोरोना नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाएर काम भईरहेको उनीहरूले बताएका छन् । स्थानीय तहले अक्सिजन सहितको आइसोलेसन निर्माण, चिकित्सक सहितको स्वास्थ्यकर्मीको सेवा, जनचेतना अभिबृद्धि, कोरोना अस्पताल बनाउने काम विशेष ध्यान दिएर गरेका छन् । यस्तै स्वाब तथा एनटिजीनको आधारमा कोरोना परीक्षण र गाउँपालिका प्रमुखले चढेको सवारीलाई एम्बुलेन्स घोषणा लगायतका काम गरेको देखिन्छ । यस्तै शब व्यवस्थापन र बिरामी ओसारपोसारमा समेत स्थानीय तहको अग्रसरता देखिन्छ । तर कोरोना नियन्त्रणको सबैभन्दा पहिले गर्नुपर्ने काम भनेको स्वाब परीक्षण वा एनटिजीन परीक्षण हाे । निषेधाज्ञापछि पीसीआर र एनटिजीनको आधारमा कोरोना जाँचलाई तीब्रता दिएर आवश्यक तयारी गर्नुपर्नेमा अधिकांश स्थानीय तह चुकेको देखिन्छ । तानसेन नगरपालिकाको बाहेक अन्य स्थानीय तहले कोरोना परीक्षणलाई फराकिलो बनाउन सकेका छैनन् । तानसेनले निषेधाज्ञापछि १ हजार १०० जनाको पीसीआर र ८ सय ३४ जनाको एनटिजीनको आधारमा कोरोना परीक्षण गरेको छ । रामपुर नगरपालिकाले ११६ जनाको पीसीआर र २२६ जनाको एनटिजीनको आधारमा कोरोना जाँच गरेको छ । यो तानसेनको तुलनामा ज्यादैँ न्युन हो । रामपुरमा कोरोना परीक्षण भयाबह भएपनि स्वाब परीक्षण र एनटिजीन परीक्षणमा उसले ध्यान दिन सकेको छैन । यस्तै निस्दी गाउँपालिकाले निषेधाज्ञाको बीचमा १३८ जनाको पीसीआर र १५२ जनाको एनटिजीनको आधारमा कोरोना जाँच गरेको छ । रिब्दीकोटले २०५ को पीसीआर र ९७ जनाको एनटिजीन परीक्षण गरेको छ । तिनाउमा पनि निषेधाज्ञापछि २६८ जनाको पीसीआर र १७३ जनाको एनटिजीनका आधारमा कोरोना परीक्षण भएको स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकमा उल्लेख छ । बगनासकाली गाउँपालिकामा १२७ जनाको पीसीआर र ४९६ जनाको एनटिजीनको आधारमा कोरोना परीक्षण भएको छ । बगनासकाली गाउँपालिकाले पीसीआर जाँचमा खासै ध्यान नदिएपनि एनटिजीनका आधारमा भने कोरोना परीक्षण अन्य गाउँपालिकाको तुलनामा धेरै गरेको छ । रम्भा गाउँपालिकाले १७८ जनाको पीसीआर र १०९ जनाको एनटिजीनबाट कोरोना परीक्षण गरेको छ । पूर्वखोला गाउँपालिकामा २२८ जनाको पीसीआर र २२४ जनाको एनटिजीन परीक्षणबाट कोरोनाको जाँच भएको थियो । यस्तै रैनादेवी छहरामा ११६ जनाको पीसीआर र २२८ जनाको एनटिजीनका आधारमा कोरोना परीक्षण भएको छ । माथागढीमा निषेधाज्ञापछि ३७६ जनाको पीसीआर र ७८ जनाको एनटिजीनका आधारमा कोरोना परीक्षण स्वास्थ्यको तथ्यांकमा उल्लेख गरिएको छ । यो तथ्यांकलाई केलाउने हो भने पाल्पाका अधिकांश स्थानीय तहले कोरोना परीक्षण गरेर अन्य आवश्यक तयारी गर्नुपर्नेमा त्यो भएको देखिदैन । गाउँमा अहिले पनि कोरोनाको जोखिम बढी नै छ । कोरोना जाँच कम हुँदा कोरोनाको रिङ् तोड्न गाह्रो भईरहेको छ । समयमै कोरोना परीक्षण गरेर कोरोना नियन्त्रणका बाँकी काम गर्न सकेको भए जिल्लाभित्र कोरोनाको भयाबह हुने थिएन । मानिसको मृत्यु पनि कम हुने थियो । अहिले पनि गाउँमा मानिस निर्वाध रुपले हिडिरहेका छन् । उनीहरूलाई कोरोना जाँच गर्ने काममा स्थानीय तह र जनप्रतिनिधिले भूमिका खेल्न सकेका छैनन् ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update