Erani Mahal
पाल्पा-बुटवल सडक खण्डकाे सिद्धबावामा सुरूङ् मार्ग निर्माण प्रक्रिया सुरू
surung-marga
पाल्पा – सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डस्थित सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण प्रक्रिया सुरु भएको छ । लामो समयदेखि सुरुङ् मार्ग बन्ने चर्चाका बीच सुरुङ् मार्ग बनाउन आइतबार टेण्डर आहवान गरिएको हो । वर्षात र हिउँदमा समेत पहिरो खसेर क्षतविक्षत बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन – बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा १ किलोमिटर बढी सुरुङ् मार्ग बनाउन टेण्डर आह्वान भएको हो । संघीय सरकारअन्तर्गत आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङ निर्माणका लागि ३० दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरेको जनाएको छ । अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएकाले टेण्डर प्रक्रिया अगाडि बढाएको सडक विभागका उपमहानिर्देशक विजय जैसीले बताउनुभयो । ग्लोबल टेन्डरमार्फत पाँच वर्षभित्र काम सक्ने गरेर सूचना प्रकाशित गरिएको छ । सडक विभागका अनुसार सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुने बताइएको छ । चिडियाखोला खोंचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ । यो करिब एक हजार एक सय मिटरको हुनेछ । सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न आफूले धेरै प्रयत्न गरेको र आइतबार टेण्डर भएकोमा पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डेयले खुसी व्यक्त गर्नुभएको छ । गत मंसिर १ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेटको स्वीकृति दिएको थियो । सिद्धबाबा क्षेत्र करिब ५ किलोमिटर लम्बाइको छ । सुरुङ मार्ग आयोजनामध्ये १ हजार १ सय २६ मिटरको टनेल, ७ सय ८० मिटरको डबल लेन ‘रक सेड’ हुने मन्त्रालयले जनाएको छ । सिद्धबाबा तराईका जिल्लासहित गुल्मी, अर्घाखाँची, स्याड्जा, बाग्लुङलगायत जिल्लामा आवतजावत गरिन्छ । सुरुङ् मार्ग बनेपछि यस क्षेत्रमा हरेक वर्ष हुने दुर्घटना लगायतका घटना कम हुने र आवतजावतमा सहजता आउने विस्वास गरिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update