Erani Mahal
तानसेन नगरपालिकाको आइसोलेसनमा काेराेना संक्रमित बिरामीकाे उपचार गरिदैँ
corona34
पाल्पा – तानसेन नगरपालिका आफैँले निर्माण गरेको आइसोलेसनमा काेराेना संक्रमित बिरामीले सेवा पाउन थालेका छन् । कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएर छट्पटाइ रहेका बेला तानसेन नगरपालिकाले त्रिभुवन बहुमुखी क्याम्पसभित्र बनाएको आइसोलेसनमा काेराेना संक्रमित बिरामीलाइ सेवा दिन थालिएकाे हो । नगरपालिकाले सोमबारदेखि काेराेनाबाट संक्रमित बिरामीकाे उपचार गर्न सुरू गरिएकाे जनाएको छ । सोमबार तानसेन–९, की ७५ वर्षकी महिला सो आइसोलेसन वार्डमा भर्ना हुनुभएको तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तानसेनस्थित पाल्पा अस्पताल, मिसन अस्पताल र लुम्विनी मेडिकल कलेजमा अत्याधिक बिरामी भर्ना भएको र बेड नपाएको अवस्थामा नगरपालिकाले आफैँले सेवा थालेको बताउनुभयो । उक्त आइसोलेसनमा डा. झपेन्द्र ढकालको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीले २४ सैँ घण्टा सेवा दिनुहुने स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताउनुभयो । तानसेनले हालका लागि २० बेडको आइसोलेसन बनाएको र त्यहाँ कोरोना संक्रमित बिरामीले अक्सिजन र चिकित्सक सहितको सेवा पाउने तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो । अहिले कोरोनाका बिरामीले बेड नपाएर मर्ने अवस्था सिर्जना भएको छ उहाँले भन्नुभयो हामीले नगरका कुनै पनि बासिन्दाले उपचारका लागि बेड नपाएर मर्न नपरोस् भनेर आइसोलेसनबाट सेवा आरम्भ गरेका छौँ । उहाँले तानसेनभित्रका वडाको सिफारिसमा कोरोनाका संक्रमितले उपचार पाउने बताउनुभयो । उहाँले आइसोलेसनमा नियमित बिरामीको उपचार गर्न अक्सिजनको अभाव देखिएकाले अक्सिजनको सहज व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । तानसेन नगरपालिकाले हाल ५० बढी अक्सिजन सिलिण्डरको व्यवस्थापन गरेको बताउँदै नगरप्रमुख शाहीले निरन्तर बिरामी बढ्दै जाने अवस्थामा अक्सिजनको अभाव हुने बताउनुभयो । तर आइसोलेसनमा रहेका बिरामीलाइ अक्सिजन र उपचारकाे कुनै अभाव नहुने उहाँले उल्लेख गर्नुभयाे ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update