Erani Mahal
पाल्पामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय
baithak
पाल्पा – पाल्पामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । संकट व्यवस्थापन केन्द्र पाल्पाको बैठकले साे निर्णय गरेको हाे । कोरोना प्रभावित बिरामीका लागि पाल्पा जिल्लामा अक्सिजनको अभाव भएकाले जिल्लाभित्रै अक्सिजन प्लान्ट सञ्चालन गरेर अक्सिजन अभाव पू्र्ति गर्ने निर्णय भएकाे हाे । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा साेमबार बसेको बैठकले पाल्पा अस्पताल मातहत अक्सिजन प्लान्ट स्थापन गर्न लुम्विनी र संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । जिल्लामा चार वटा ठूला अस्पालमा अहिले कोरोनाका बिरामी बढेकाले अक्सिजनको अभाव सिर्जना भएकाे प्रजिअ पाण्डेले बताउनुभयाे । अक्सिजन प्लान्ट स्थापना गरेर मात्र अक्सिजन अभाव पूर्ति गर्न सकिने बैठकमा सहभागी संघीय सांसद, प्रदेश सांसद, दलका नेताहरू तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूले जोड दिनुभएको थियो । बैठकले दैनिक सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट स्थापना गर्ने निर्णय भएको पाल्पाका संघीय सांसद तथा पूर्व मन्त्री सोमप्रसाद पाण्डेयले बताउनुभयो । कोरोना प्रभावित बिरामीका लागि अहिले अत्यावश्यक भनेको अक्सिजन उपलब्ध गर्ने कुरा नै हो उहाँले भन्नुभयो यसका लागि जिल्लामै प्लान्ट स्थापना गर्नुपर्छ । उहाँले आफूले पाल्पामै प्लान्ट स्थापना गर्न संघीय सरकारसँग माग गरेकाे र तत्काल आर्थिक सहयोग जुटाउने प्रयास गर्ने बताउनुभयाे । बैठकमा प्रदेश सभासद्हरु नारायण आचार्य, वीरबहादुर राना र पुरनमान बज्राचार्यले तत्कालका लागि आवश्यक पर्ने सिलिण्डरको व्यवस्थापनसँगै प्लान्ट स्थापनामा पहल थाल्नुपर्ने बताउनुभएको थियो । बैठकले पाल्पा अस्पतालले अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक अध्ययन् गर्ने निर्णय गरेको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले अक्सिजन नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी पाण्डेले हाल जिल्लामा ३७० वटा सिलिण्डर अक्सिजन रहेको जानकारी दिनुहुँदै पाल्पा अस्पताल लगायत मिसन र लुम्विनी मेडिकल कलेजमा समेत अक्सिजनको अभाव रहेको बताउनुभयो । अहिले जहाँ खोजे पनि अक्सिजन पाउने सम्भावना छैन उहाँले भन्नुभयाे सबैको ध्यान अक्सिजन व्यवस्थापनमै हुनुपर्छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update