Erani Mahal
पाल्पामा काेराेना संक्रमण तीव्र : १२ दिनमा संक्रमण दर दाेब्बरले बढ्याे !
corona-gg
पाल्पा – पाल्पामा एक सातायता लगातार कोरोना सङ्क्रमण हुने दर उच्च रहेको छ । बुधबार मात्रै १५८ जना संक्रमित थपिएका छन् । कुल २१५ जनाको कोरोना परीक्षण गरिएकोमा १५८ अर्थात ७४ प्रतिशतमा सङ्क्रमण देखिएको छ । एक सातअघिसम्म कुल परीक्षण गरिएकामध्ये ५० प्रतिशत बढीमा कोरोना सङ्क्रमण थियो । तर हाल आएर सङ्क्रमण हुने दर बढेर ७० देखि ८५ सम्म पुगेको छ । पाल्पामा बैशाख १७ गतेदेखि कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरे पनि कोरोना सङ्क्रमणको दर भने घट्ने अवस्था देखिएको छैन । निषेधाज्ञा गर्ने बेलामा पाल्पामा कोरोनाको सङ्क्रमण दर हरेक १०० जनामा ३० देखि ४० जनामा थियो । निषेधाज्ञाले संक्रमण दर घट्नुको सट्टा बढेको बढ्यै छ । यसको मतलब हो, सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । हरेक घर–घरमा कोरोना पुगिसकेको छ । अझ कोरोनाको जाँच बढाउने हो भने संक्रमण दर बढ्न सक्छ । यो अबस्थाले गम्भीर बिरामीको संख्या समेत बढ्ने निश्चित नै छ । १२ दिन पहिले अस्पताल भर्ना भएका कोरोनाका बिरामीको संख्या जम्मा २३ मात्र थियो । हाल उक्त संख्या बढेर ५९ पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । अझ गाउँपालिका नगरपालिकाले सञ्चालनमा ल्याएका कोभिड अस्पतालमा समेत कोरोनाका केही बिरामी उपचाररत छन् । हाल पाल्पामा १ हजार ३४९ जना सक्रिय सङ्क्रमित छन् । अस्पतालमा रहेका ५९ जना छन् बाँकी सबै घरमै छन् । तर उनीहरू घरमा छुट्टै सुरक्षित रुपमा बसिरहेका छन् की अझैँ गाउँ, छिमेकमा घुमिरहेका छन् । यसको भने निगरानी र अनुगमन हुन सकेको छैन । घरमा बसेका बिरामी के गरिरहेका छन् भन्ने जानकारी जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रसँग पनि छैन । यसले जिल्लामा कोरोनाको संक्रमण चेन तोड्न नसक्ने अवस्था देखाउँछ । यही अवस्था रहे निषेधाज्ञा अझ बढ्ने सम्भावना कायमै छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update