Erani Mahal
कोभिडबाट ज्यान गुमाएका परिवारलाई रामपुर नपाले ३० हजार किरिया खर्च दिने
ram
पाल्पा – रामपुर नगरपालिकाले गत शुक्रबार कार्यपालिकाबाट निर्णय गरेको अक्सिजन सहितको आइसोलेसन निर्माण अब थाल्ने भएको छ । पुनः एकहप्तापछि बसेको अर्को बैठकले तत्कालको लागि थोरै बेड भएपनि आइसोलेसनको शुरुवात गर्ने निर्णय भएको रामपुर नगरपालिकाले जनाएको छ । जिल्लामा कोरोना भाइरस बढेसंगै एक हप्ता अघि ५० बेडको आइसोलेसन बेड बनाउने र ५० सिलिन्डर अक्सिजनको व्यबस्था गर्ने निर्णय गरेको थियो । यो शुक्रबारको बैठकले नगरका वडा नम्बर १,९ र १० मा ५/५ वटा आइसोलेसन बेड र रामपुर अस्पतालमा अक्सिजन सहितको १० बेडको आइसोलेसन निर्माण गर्ने निर्णय भएको नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो । नगर स्तरिय क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन तथा संचालनका निम्ति वडा नम्बर ५ का वडा अध्यक्ष हिमाल मल्लको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा हुमनाथ न्यौपाने, एकबहादुर नेपाली, दिनेशकुमार खनाल, कमलराज भट्टराई, कपिलबहादुर खाँड र अमृत राना रहनुभएको छ । अब समितिले वडामा १५ र अस्पतालमा समन्वय १० आइसोलेसन निर्माण गर्नेछ । कोरोना संक्रमण भएका नगरबासीलाई थप उपचारका लागि रिफरमा निशुल्क एम्बुलेन्स सेवा दिने, हरेक हप्ताको बुधवार र शनिवार नगरपालिका कार्यालय परिषरमा निशुल्क एन्टिजेन तथा पिसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने, जोखिमको समयमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकबमोजिमको भत्ता उपलब्ध गराउने, अग्रपंक्तिमा काम गर्ने संचारकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई अक्सिजन सहितको निशुल्क आइसोलेसन कक्ष निर्माण गर्ने न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले कोभिडको कारण ज्यान गुमाउनेको परिवारलाई ३० हजार रुपैँया दिने निर्णय गरेको छ । त्यसरी ज्यान गुमाएका नगरवासीका घरपरिवारलाई दाहसंस्कार एवं काजक्रिया खर्च बापत प्रति परिवार ३० हजार उपलब्ध गराउने निर्णय गरेको हो । कोभिडको संक्रमणबाट जोगिन आवश्यक काम बाहेक घरबाहिर ननिस्कन र स्वाश्थ्य मापदण्ड अनिवार्य पालना गर्न नगरप्रमुख रमणबहादुर थापाले सबै नगरवासीलाइ अनुरोध गर्नुभयो । साथै औषधी, खाद्यसामाग्री तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी नगर्न अनुरोध गर्नुभयो । यदी कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update