Erani Mahal
रामपुर नगरपालिकाको अझै बनेन अक्सिजन सहितको आइसोलेसन
182069118_295181668806125_4215191543791084736_n (1)
पाल्पा- रामपुर नगरपालिकाले निर्माण गर्ने भनेको अक्सिजन सहितको आइसोलेसन अझै निर्माण हुन सकेको छैन । जिल्लामा फैलिएको कोरोका संक्रमणलाई मध्यनजर गर्दै केही स्थानीय तहले धमाधम आइसोलेसन कक्ष बनाएपनि रामपुर नगरपालिकाले कोभिड१९ अस्पताल सञ्चालनमा तत्पर देखाएको छैन । गत शुक्रबार बसेको रामपुर नगरपालिकाको कार्यपालिका बैठकले जिल्लामा कोरोना बढ्दै जादा अक्सिजन सहितको आइसोलेसन बनाउने आफ्नै निर्णय पनि कार्यान्वयन गर्न सकेको छैन । सो बैठकले रामपुर नगरपालिकामा ३५ बेडको आइसोलेसन कक्ष बनाउने र ५० वटा अक्सिजन सिलिण्डरको व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय भएको ६ दिनबितिसक्दा समेत नगरपालिकाले आफैले तोकेको ३५ मध्ये १ बेड पनि बनाएको छैन । सिलिण्डर खरिद प्रक्रियामा छ । निर्णय गर्न हतारिएको नगरपालिका कार्यान्वयनमा जान चासो नदेखाएको स्थानियको भनाई छ । नगरपालिकाले प्रदेश सरकारको सहयोगमा बेड र अक्सिजनको व्यवस्था गर्ने र भवन व्यवस्थापन रामपुर अस्पतालले गर्ने बताएको थियो । रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजय परियारले अस्पतालको नयाँ भवन निर्माणाधिन क्रममै रहेको बताउनुभयो । गतबर्षदेखिको कोभिड संक्रमणको सिकाईले जसोतसो रामपुर अस्पतालले आफैले १० शैयाको आइसोलेशन कक्ष तयार पार्दैैैछ । पुरानो भवनबाट बेड आइसोलेसन कक्षको एक कोठमा लगेर राखिएको छ । निर्माणाधिन भवनमा शौचालय प्लाष्टर सहित टायल राख्ने, घोल राख्ने लगायत सरसफाईको काममा कामदार बढाएर काम भएको उहाँले बताउनुभयो । कोरोना जोखिम दिनप्रतिदिन बढ्दै गएर आइसोलेसनमा बस्नुपर्ने विरामी आए अब राख्न सकिने परियारले बताउनुभयो । ‘‘अस्पतालमा १८ वटा ठुला सिलिण्डर अक्सिजन सहित हाल ३० वटा अक्सिजनको व्यवस्था छ, डाक्टर परियारले भन्नुभयो– महामारीको अवस्थालाई हेर्दा ५० वटा सिलिण्डर अक्सिजनको आवश्यकता पर्ने देखिन्छ । हाल आकस्मिक सेवाका लागि दुई कक्ष रहेको छ । रामपुर नगरपालिकाले अस्पतालमा निर्माण गर्ने भनिएको आइसोलेसनका लागि कुनै व्यवस्था अहिलेसम्म नआएको उहाँले जानकारी दिनुभयो । बन्दै गरेको ५० शैयाको अस्पतालमा भौतिक संरचना हुने र डा. सहितको प्राविधिक सहयोग हुने हिसाबले कार्यपालिका बैठकबाट यहाँ बनाउने निर्णय गर्नुभयो–आबश्यक सहयोग गर्न हामी तत्पर छौं तर केही सामाग्री आएको छैन, कोही फर्किएर आउनुभएको छैन उहाँले भन्नुभयो । हामी जनशक्ति पनि छैन । नगरपालिकाले आइसोलेसन बनाउन भनेको रामपुर अस्पतालको नयाँ भवनमा शौचालयको काम गर्दै कामदार । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले ५० वटा ठुला सिलिण्डर अक्सिजन खरिद गर्ने प्रक्रियामा रहेको बताउनुभयो । ‘‘ अबको तिन दिनमा खरिद प्रक्रियामा जान्छौं, उहाँले भन्नुभयो पाल्पा अस्पतालमा जस्तो पाइपबाट दिने अक्सिजनको व्यवस्थापनका लागि पनि हामी लागेका छौ । उहाँले ३५ शैंयाको आइसोलेशन बेड बनाउने निर्णय भएपनि अस्पतालको पुर्वाधार नसकिएकोले तयार पार्न अफ्ठेरो परेको बताउनुभयो । रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले भने २० अक्सिजन र १० बेड बुधबार बिहान आइपुगेको बताउनुभयो । स्टोरमा सामान आइपुगेको छ, भवन बन्दैछ भवन बनेपछि आइसोलेसन तयार गर्ने जानकारी पाएको बताउनुभयो । नगरप्रमुख सहितको टोली अस्पताल गएको थियो–अब तयार भएपनि बनाउने होला उहाँले भन्नुभयो । गतबर्ष रामपुर नगरपालिकाले शहिद बहुमुखी क्याम्पसमा आइसोलेसन तयार गरेको थियो । आइसोलेसन बनाउदा जुटाइएका सामाग्री अझपनि त्यही कोठामा थुनिएर राखिएको छ । कोभिडको दोस्रो महामारी पहिलेको तुलनामा बढी जोखिम भएपनि भइसकेको सामाग्री समेत अहिलेसम्म नगरपालिकाले प्रयोगमा ल्याएन सकेको छैन । क्याम्पसमा आइसोलेसन तयार गर्दा प्रयोग गरिएका कतिपय सामाग्री ल्याएर अहिले तत्काल बेड र अन्य सामाग्री तयार गर्न सकिने भएपनि अहिलेसम्म ती सामाग्री क्याम्पसको एउटा कोठमा थुनेर राखिएको छ । यो बेला प्रयोगमा आउन नसकेको सामान कहिले आउनेछ भन्ने चासो स्थानीयमा छ । हुन त रामपुर नगरपालिकाले गत शुक्रबारको कार्यपालिकामा गरेको नगरका टाढाका ३ वटा वडामा ५÷५ बेडको आइसोलेसन कक्ष बनाउने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । नगरपालिकाका वडा नम्बर १, ९ र १० मा ५÷५ बेडको आइसोलेसन बेड बनाउने निर्णय भएको थियो । गाडाँकोट र गेझामा स्वास्थ्य चौकी र वडा नम्बर ९ मा स्मृति भवनमा बेड राख्ने भनिएपनि त्यस स्वास्थ्य संस्था सँग अहिलेसम्म नगरपालिकाले समन्वय नगरेको स्वास्थ्य संस्थाका प्रमुखहरुले बताउनुभएको छ । आइसोलेसन बनाउन भनिएको कोठा । गाडाँकोट र गेझा स्वास्थ्य चौकीमा इमरजेन्सी मा १ र बर्थिङ सेन्टरमा २ बेड गरि ३ बेड मात्र छ । गाडाँकोट स्वास्थ्य चौकीमा भएको अक्सिजन सिलिण्डरमा जडान गर्ने पाइप मास्क नभएर प्रयोगमा नभएको स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखले बताउनुभयो । ३ बेड अत्यावश्यक छ यि चलाउन मिल्दैन शेखले भन्नुभयो– नगरपालिकाले निर्णय गरेको रहेछ तर अन्य कुरा जानकारी आएको छैन । बेडको व्यवस्था गरे आइसोलेसन बेड राख्न भौतिक संरचना भएको उहाँले बताउनुभयो । गेझा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरमा भएको अक्सिजन आबश्यक परे चलाउन सकिने भएपनि अन्य बेड राख्न भौतिक संरचना छैन । समाजमा कोभिडको भयाभह स्थिति छ यही गाउँमा मानिस समेत मरेका छन् त्रास छ तर नगरपालिकाले गरेको निर्णय हामीले पनि मिडियाबाट थाहा पाइयो स्वास्थ्य चौकी प्रमुख बिक्रम भण्डारीले भन्नुभयो–कतै नजिक घरभाडामा लिएर आइसोलेसन बनाए मात्र सम्भव छ । कोभिडको गतबर्ष पनि अक्सिजन लगाउने विरामी हुर्नु परेको कोभिडको बिरामी आए यही भएको अक्सिजन लगाउन पनि दक्ष जनशक्ति छैन भण्डारीले थप्नुभयो । वडा नम्बर ९ को शहरी स्वास्थ्य केन्द्र एक कोठाको भाडामा छ । त्यहाँ एउटा मात्र बेड छ । व्यवस्थापन मिलाएको खण्डमा सफा गरेर स्मृति भवनमा राख्न सकिने अहेव गोपाल काफ्लेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update