Erani Mahal
कोरोना संक्रमित बढ्दै गएपछि पाल्पाका स्थानीय तहमै आइसोलेशन निर्माण !
iso
पाल्पा– दैनिक १ सय बढी कोरोनाको विरामीहरु थपिदै गएपछि पाल्पाका स्थानीय तहरुले कोरोनाका विरामी स्थानीय स्तरमै राख्नका लागि आइसोलेशन सेन्टरहरु बनाउन थालेका छन् । जिल्लाको १० स्थानीय तहले ५ देखि १५ बेडसम्मका स्थानीय स्तरमै आइसोलेशन सेन्टरहरु निर्माणलाई तीव्रता दिएका हुन् । कोरोना संक्रमण समुदाय स्तरसम्म फैलिन थालेपछि जिल्लाका स्थानीय तहहरुले कोरोना अस्पताल निर्माण कार्यलाई तीव्रता दिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो । उहाँका अनुसार पालिकाले संक्रमितको घरमै पनि औषधी उपचार सहितको व्यवस्था मिलाइएको छ । बगनासकाली गाउँपालिकामा १० वेडको १ अस्पताल तयार भई संचालनमा आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले बताउनुभयो । रिब्दीकोट गाउँपालिकामा ५ वेडको खस्यौली, १० बेडको देउरालीमा कोरोनाको आइसोलेशन तयारी गरिएको स्वास्थ्य संयोजक सुनिल अधिकारीले बताउनुभयो । यस्तै रैनादेवी छहरा गाउँपालिकामा १० वेडको १ अस्पताल तयार भइसकेको पालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । तिनाउँ गाउँपालिकामा १० वेडको १ अस्पताल, माथागढी गाउपालिकामा १५ वेडको १ अस्पताल तयार भएको छ । पूर्वखोलामा १० वेडको १ अस्पताल, रम्भा गाउँपालिकामा ५÷५ वेडका २ अस्पताल तयार भएको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनुभयो । रम्भाको ताहुँमा ५ वेडको र हुँगीमा ५ वेडको गरी २ अस्पताल बनाइएको छ । त्यसैगरी निस्दी गाउपालिकामा पनि ५ वेडको १ अस्पताल तयार भएको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । तानसेन नगरपालिकाले पाल्पा अस्पताल संगको समन्वयमा कोरोना संक्रमितका लागि ५० वेड तयार गर्ने तयारी गरेको छ । नगरपालिकाले ३० वेड संचालनमा ल्याएको छ । त्यस्तै रामपुर नगरपालिकाले ३५ वेडको अस्पताल तयार गरीरहेको नगरप्रमुख रमण थापाले बताउनुभयो । उहाँका अनुसार रामपुरमा कोरोना संक्रमितहरुको लागि अक्सिजन सिलिण्डर आइसकेको छ । गाउँपालिकाहरुले कम्तिमा पनि अक्सिजन सहितको आइसोलेशन बेडहरु बनाएका छन् । उनीहरुले गाउँगाउँमा रहेको जनतालाई सास्ती नहोस भनेर लाखौं खर्च गरेरै भएपनि बेड र पूर्वाधार निर्माणमा जुटेका हुन् । पाल्पामा अहिले ५ सय ६४ जना सक्रिय संक्रमितहरु गाउँ गाउँमा रहेका छन् । यस्तै समुदाय स्तरमा समेत कोरोनाको संक्रमण फैलिएकोले त्यसको संख्या अझै धेरै हुन सक्ने आंकलन छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update