Erani Mahal
गुल्मीमा आजदेखि निषेधाज्ञा : के खुल्ने के नखुल्ने ?
DAO_gulmi
गुल्मी - गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म खुला हुने छन् । बैंक वित्तीय संस्था तथा होटलहरु दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने छ । अस्पताल र औषधि पसल २४ सैं घण्टा खुला रहनेछन् । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, इन्धन, औषधि बोक्ने गाडी, फोहोरमैला व्यवस्थापन र एम्बुलेन्स बाहेक सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । आयोजनामा काम गर्ने कामदारलाई कार्यस्थलमै रहने व्यवस्था मिलाई विकास निर्माणका आयोजना सुचारु गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । विवाह प्रयोजनको लागि ‘शुभ विवाह’ लेखिएको ब्यानर सहित बढीमा २ वटा गाडीमा १५ जनासम्मलाई नजिकको प्रहरी चौकीबाट सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अतिरिक्त आवश्यकतानुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णयसमेत गरिएको प्रजिअ शर्माले बताउनुभयो । गुल्मी जिल्लामा कोभिडको दोस्रो लहरबाट २ सय बढी संक्रमित भएका छन् भने हालसम्म १० जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update