Erani Mahal
पाल्पामा काेराेना संक्रमण तीव्र गतिमा बढ्दै, नियन्त्रणका काम सुस्त !
uarentien
पाल्पा – पाल्पामा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा अगाडि बढेको छ । पछिल्लो दश दिनको अबधिमा २०० सय बढी कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना परीक्षणका लागि स्वाब परीक्षण गरिएकामध्ये ३० देखि ५० प्रतिशत बढी मानिसमा कोरोना सङ्क्रम पुष्टि भएको छ । यद्यपी कोरोना सङ्क्रमण नियन्त्रणका लागि तयारी भने शुन्यप्राय छ । गत वर्ष यही समयमा जिल्लाभर नै कोरोना नियन्त्रणका लागि सबैजसो संघसंस्था तथा सरकारी निकाय क्रियाशिल थियो । तर यो वर्ष भने कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने सरकारी निकाय र संघसंस्थाको गतिबिधि न्युन छ । विश्व सहित नेपालमा पनि दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमणले भयाबह हुने अवस्था छ । पाल्पामा पनि कोरोना सङ्क्रमणको अवस्था बिग्रदो छ । यही अवस्था रहेमा बैशाखको अन्तिमसम्ममा एक हजार मानिस सक्रिय कोरोना सङ्क्रमित हुने सम्भावना बढेर गएको छ । अहिले पनि समुदायमा धेरै मानिसमा कोरोना सङ्क्रमण छ तर चेकजाँचको नभएकाले सङ्क्रमण कम जस्तो देखिएको छ । त्यसैले कोरोना नियन्त्रणका लागि तत्काल सबैले काम गर्नुपर्ने अवस्था आएको स्वास्थ्यकर्मी बताउँछन् । विगतमा लाखौँ रुपियाँ खर्च गरेर बनाइएका क्वारेन्टाइन रिब्दीकोटमा बाहेक अन्त छैन । रिब्दीकोटमा ५ बेडको क्वारेन्टाइन छ । अन्यत्र जिल्लाभित्र कुनै पनि स्थानीय तहमा क्पारेन्टाइन नबनेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो अवस्थाले भारतबाट आएका मानिस समुदायसम्मै पुगेका छन् र कोरोना फैलाउने बाटो तय गरिरहेका छन् । गत वर्ष लगभग सबैजसो स्थानीय तहमा कम्तीमा २० देखि एक सय वटा बेडका आइसोलेसन बनेका थिए । क्वारेन्टाइन त जिल्लाभर नै दुई हजार बढी बनेका थिए । तर यो वर्ष हालसम्म जिल्लाभर जम्मा ४६ वटा आइसोलेसन छन् । तिनाउ, रिब्दीकोटमा ५/५, पूर्वखोलामा १०, लुम्विनी मेडिकल कलेजमा १४, मिसन अस्पतालमा ६, पाल्पा अस्पतालमा ४, रामपुरमा २ छन् । यी बाहेक अन्त आइसोलेसन र क्वारेन्टाइन बनेको तथ्यांक नआएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । कोरोनाबाट कोही मानिस गम्भीर बिरामी भए, त्यसको उपचार गर्न भेन्टिलेटर सहितको उपचार कक्ष लुम्विनी मेडिकल कलेज प्रभासमा बाहेक अन्त छैन । त्यहाँ २ वटा मात्रै बेड छ । यसले जिल्लामा रुपन्देही र नेपालगन्जमा जस्तो कोरोनाको भयाबह हुने अवस्था आए धेरै मानिसको मृत्यु हुने सम्भावना छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समिति (डिसीसीएसी)ले बैशाख १७ गतेदेखि एक साताका लागि निषेधाज्ञा गर्ने घोषणा गरेको छ । यसबाहेक भीडभाड हुने कार्यक्रमहरू नगर्न निर्देशन पनि जारी गरेको छ । यसले कोरोना नियन्त्रणका लागि केही भूमिका खेले पनि कोरोना फैलिसकेको अवस्था रहेकाले उपचारका लागि पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने हो । स्थानीय तहहरूले आइसोलेसन तयार गर्ने, भारत सहितका मुलुकबाट आउने मानिसको तथ्यांक लिने र क्वारेन्टाइनमा राख्ने, स्वाब परीक्षण गर्ने, काम अझैँ सुरु गरेका छैनन् । यसले पाल्पामा कोरोना सङ्क्रमण भयाबह हुने अवस्था रहेको छ । यसप्रति जिम्मेवार को बन्ने ?
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update