Erani Mahal
पाल्पा अस्पतालमा अक्सिजन सहितको शैया थपिदै
palpa
पाल्पा- कोरोना प्रभाव रोकथाममा सहयोग पुर्याउने उद्देश्यले पाल्पा अस्पतालमा अक्सिजन सहितका बेडहरु विस्तार गरिने भएको छ । अस्पतालको सेवा थप प्रभावकारी बनाउनको लागि अस्पतालका सेवालाई प्रभावकारी रुपमा संचालन गर्दै शैयाहरुको समेत विस्तारमा लागेको अध्यक्ष नेत्र प्रसाद पाण्डेयले बताउनुभयो । अस्पतालको सेवालाई गुणस्तरी र थप प्रभावकारी बनाउनका लागि ‘अस्पतालमा अहिले ४ वटा आइसोलेसन शैया मात्र रहेको र यतिले मात्र नपुग्ने अवस्था रहेकाले अबको केही दिनमै थप १५ शैया निर्माण गरिने अध्यक्ष पाण्डेयले बताउनुभयो । ‘जनतालाई सर्वसुलभ र सरल तरिकाले सेवा दिने गरी स्थापना भएको सरकारी अस्पताल हो,’ पाण्डेले भन्नुभयो । यहाँबाट पाइने कुनैपनि उपचारमा कमी हुन नदिने उहाँले बताउनुभयो । अध्यक्ष पाण्डेले पाल्पा अस्पतालद्धारा सञ्चालित कोभिड प्रयोगशाला सञ्चालनका लागि आर्थिक व्यवस्थापनमा कठिनाई भएको बताउनुभयो । प्रयोगशालाका लागि आवश्यक सामग्री संघीय सरकारले सहयोग गरेको र त्यसपछिका समयमा प्रयोगशाला सञ्चालनका लागि स्थानीय सरकारका प्रमुखहरुले गरेको प्रतिबद्धता अनुरुप पनि आर्थिक सहयोग नगरेका कारण दिनानु दिन महामारी सँगै आर्थिक भार थपिएको उहाँको भनाई छ । जिल्लामा प्रयोगशाला नहुँदा अन्यत्र स्वाब परीक्षणका लागि पठाउन पर्ने अवस्था थियो । त्यस्तो अवस्थामा प्रयोगशाला स्थापना गरियो । यसको व्यवस्थापन र सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहले दश/दश लाख रुपैयाँ सहयोग गर्ने सहमति जनाए पनि केहीले नदिएको अध्यक्ष पाण्डेले बताउनुभयो । अक्सिजनयुक्त शैया निर्माणको लागि स्टिमेट तयार गर्ने काम सम्पन्न भएको अस्पतालका प्रमुख डाक्टर जगदीश कुँवरले बताउनुभयो । उहाँका अनुसार अबको एक हप्तामा शैया तयार हुने छ । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले सरकारी तवरबाट संचालित अस्पतालले पछिल्लो समयमा नयाँ व्यवस्थापनसँगै जनताको मन जित्न सफल भएको बताउनुभयो । उहाँले केही व्यवस्थापकीय कार्यमा सुधार ल्याएमा सरकारी अस्पतालको सेवा थप प्रभावकारी हुने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update