Erani Mahal
तानसेन नगरपालिकाको आयोजनामा कम्प्यूटर मर्मत तालिम सुरु
f
पाल्पा- तानसेन नगरपालिकाको आयोजनामा मुख्यमन्त्री ग्रामिण विकास तथा राेजगार कार्यक्रम अन्तर्गत युवाहरुलाई उद्यमसील सीप विकास गर्ने उद्देश्यले तानसेनमा कम्प्यूटर मर्मत तालिम सुरुवात भएको छ । तानसेनको डायनामिक कम्प्यूटर एकाडेमीमा संचालन हुने तालिमको शुक्रवारबाट सुरुवात भएको छ । कोभिड महामारीको बिचमा औपचारिक कार्यक्रमविना नै सुरु भएको कार्यक्रममा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सदस्य गुराँस आत्रेयले तालिम व्यवहारिक ज्ञानसँगै सीप विकास र रोजगारीमा तानसेन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । यस्तै निमित्त प्रशासकीय अधिकृत दुर्गाथापाले कप्यूटर मर्मत तालिम लिएर दक्षतासँगै सीपको सहि रुपमा उपयोग गर्न सहभागिलाई आग्रह गर्नुभयो । तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत प्रसाद आचार्यले दुई महिनासम्म तालिममा नियमित सीप हाँसिल गरेर सहभागिलाई स्वरोजगारीका अवसरमा लाग्न शुभकामना दिनुभयो । तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सभापति रेखीराम रानाले अहिलेको अवस्थामा कम्प्यूटर सीप अपरिहार्य रहेकोले सबैले सिक्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईले तालिमबाट अहिलेको अवस्थामा दक्ष कम्प्यूटर मर्मतगर्ने प्राविधिक उत्पादन हुने भएकाले त्यसलाई आफूले व्यवसायमा जोड्न सहभागिलाई शुभकामना दिनुभयो । डाइनामिक एकाडेमीका म्यानेजिङ्ग डाइरेक्टर अमृत अधिकारीले विगत १३ वर्षदेखि संस्थाले विभिन्न संघ संस्थाहरुको समन्वयमा तालिमहरु मार्फत हजारौं विद्यार्थीलाई प्राविधिक ज्ञान सिकाएको बताउँदै विश्वका १६० देशमा समेत मान्यता प्राप्त कम्प्यूटरका शिक्षाहरु प्रदान गरिएको बताउनुभयो । उहाँले प्रशिक्षार्थीलाई सिक्नुपर्ने कुरा र आचारसंहिताको बारेमा जानकारी दिनुभयो । तालिममा सिटिइभिटिकै पाठ्यक्रम अनुसार सीप सिकाइने उहाँले बताउनुभयो । यस्तै प्रशिक्षक अमित रास्कोटीले तालिमलाई तालिम मात्र नलिगी सीप र व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका संयोजक नारायण कुमालको संचालनमा कार्यक्रम भएको थियो । दुई महिना (३ सय ९० घण्टा)तालिममा तानसेनका विभिन्न वडाबाट छनौट भएर आएका २० जना सहभागिहरुको सहभागिता रहने छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update