Erani Mahal
पाल्पामा काेराेना परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा काेराेना संक्रमण !
corona_palpa
पाल्पा – पाल्पामा कोरोनाको संक्रमण दर तीव्र गतिमा उकालो लागेको छ । एक साताअघिसम्म कोरोनाको संक्रमण दर १२ प्रतिशत रहेकोमा बुधबारसम्ममा बढेर ५० प्रतिशत सेरोफेरोमा पुगेको छ । स्वास्थ्य कार्यालय पाल्पाले एक साताअघि चैत २९ गते प्रकाशन गरेको तथ्यांक अनुसार १३१ जना मानिसमा गरेको कोरोना परीक्षणमा जम्मा १४ जना मात्र संक्रमित थिए । तर २०७८ बैशाख ९ गते प्रकाशन गरेको तथ्यांकमा ९० जनाको कोरोना परीक्षण गरिएकोमा ४४ जना कोरोना संक्रमित भएका छन् । यो तथ्यांकलाई आधार मान्ने हो भने पाल्पामा कोरोना संक्रमितको संख्या पछिल्लो १० दिनको अबधिमा शतप्रतिशतले बढेको छ । भारतबाट आएका मानिस खुल्ला सिमानाका कारण जिल्लामा भित्रनुले जिल्लामा संक्रमणको अवस्था भयाबह हुने अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ । बैशाख ९ गते बुधबार मात्र कोरोना जाँच गरेर संक्रमित देखिएका सबैजसो भारतबाट फर्किएका मानिस रहेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । तथ्यांक हेर्दा भारतबाट नेपाल फर्किएका सबैजसो मानिसमा कोरोना सङ्क्रमण देखिएको छ, उहाँले भन्नुभयो भारतबाट नेपाल फर्किएका मानिस छुट्टै आइसोलेसनमा बस्ने र कोरोना परीक्षण गर्ने कार्य गर्नुपर्छ । कोरोना संक्रमितको संख्या बढेपछि साता दश दिनमै जिल्लामा सक्रिय संक्रमितको संख्या समेत २७ बाट बढेर ९८ पुगेको छ । भारतबाट अहिले पनि दिनहुँ मानिस लुकीछिपी पाल्पा जिल्लाका विभिन्न स्थानमा भित्रिने क्रम बढेको छ । उनीहरु भारतबाट आएर गाउँमा घुम्ने, कोरोना परीक्षण नगर्ने, आइसोलेसनमा नबसी सबै मानिससँग हिमचिम हुने कार्य गरिरहेका छन् । यो अवस्थाले बैशाखको अन्तिमसातासम्ममा पाल्पामा समेत कोरोना संक्रमण दर तीव्र गतिमा बढ्न सक्ने स्वास्थ्य कर्मीहरूको भनाई रहेकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update