Erani Mahal
घाँसकाे लाेभमा २१ सय हेक्टर वन क्षेत्र डढेलाेले स्वाहा !
palpad
तिलाचन पाण्डे गुल्मी- घाँसकाे लाेभमा २१ सय हेक्टर वन क्षेत्र डढेलाेले स्वाहा भएकाे छ । ब्यक्तिगत स्वार्थका कारण वनक्षेत्रमा डढेलो लगाउने गरेको यहाँका सरोकारवालहरुले बताएका छन् । समुदायमा अझै पनि वन क्षेत्रमा डढेलो लगाउनाले घाँस राम्रो पलाउने र दाउराको अभाब नहुने भन्दै डढेलो लगाउने गरेको रेसुंगा नगरपालिका वडा नम्वर ११ का स्थानीय एवम माओबादी केन्द्रका नेता अशोक थापाले बताउनुभयाे । यस्तै युवा युवतीहरुले वन क्षेत्रमा गई चुरोट तथा गाँजा सेवन गर्दा पनि डढेलो लाग्ने गरेको उहाँकाे गुनासाे रहेको छ । यस्तै रेसंगा नगरपालिका वडा नम्वर १० का वडाअध्यक्ष पदम अर्यालले सामुदायिक वनका उपभोक्ताहरु उपभोक्ता जस्तै नभएको बताए । उनले स्थानीयहरु सामुदायिक वनमा डढेलो लागे फोटो खिच्न अग्रसर हुने गरेको र वन हाम्रो हो भन्ने गरी डढेलो नियन्त्रण गर्नमा ध्यान नदिएको बताउनुभयाे । यस्तै नेपाली काँग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले वनक्षेत्रमा डढेलो लाग्नु मानवीय कारण नै भएको दाबी गरे । मानवीय कारणले डढेलो हुने गरेको बताउँदै समुदाय र सामुदायिक वनका उपभोक्ताहरुले बढी जिम्मेवार हुनुपर्नेमा उनले जोड दिनुभयाे । सशस्त्र प्रहरी बल गुल्मका गुल्मपति एवं डिएसपी अशोक लम्सालले वनक्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्नका लागि स्रोत साधनको अभाव भएका कारण पनि समस्या भएको बताउनुभयाे । स्थानीय स्तरबाटै सबै सचेत भएमा मात्रै डढेलोका घटनाहरु न्यूनीकरण गर्न सकिने उनको भनाई छ । यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले घाँस दाउरा र जंगली जनावर धपाउनका लागि पनि वनक्षेत्रमा डढेलो लगाउने गरेको पाइएकाले त्यसलाई रोक्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयाे । यता गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले वनक्षेत्रमा डढेलो लगाउने ब्यक्तिको सूचना दिने ब्यक्तिको नाम गोप्य राखी पुरस्कृत गर्ने बताइन । हालसम्म वनक्षेत्रमा डढेलो लगाउने ब्यक्तिहरु समुदाय स्तरकै भएपनि कसैले सूचना नदिएका कारण समस्या भएको उनको भनाई छ । सूचना पाए लगत्तै वन क्षेत्रमा डढेलो लगाउने ब्यक्तिलाई वन ऐन २०७६ को दफा ५० को उपदफा चार बमोजिम कारवाही गरेरै छाड्ने उहाँकाे भनाइ रहेकाे छ । फागुन महिना यता गुल्मीमा दूई हजार एक सय हेक्टर वनक्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीका रेन्जर बाबुराम न्यौपानेले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update