Erani Mahal
रामपुरमा जनगणना कार्यालय स्थापना
jangadana (1)
पाल्पा - बार्ह्रौ राष्ट्रिय जनगणनाका लागि पाल्पाको रामपुर नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरेर काम सुरु भएको छ । जनगणना ०७८ नेपालको जनगणनामा बार्ह्रौ र संघीय गणतान्त्रिक नेपालको पहिलो जनगणना हो । पाल्पाका १० स्थानीय तहलाई मध्यनजर गर्दै जिल्लाका ४ स्थानमा कार्यालय स्थापना गरिएको छ । सोही अनुसार रामपुर नगरपालिका र निस्दी गाउपालिका हेर्ने गरि रामपुर नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरेको हो । जिल्ला जनगणना कार्यालय र जिल्लाका अन्य ४ स्थानमा स्थानीय जनगणना कार्यालय रहने व्यवस्था अन्तर्गत वैशाख २ देखि रामपुर र निस्दी हेर्ने गरि रामपुर, पूर्वखोला, रम्भा र माथागढी हेर्ने गरि ताँहुमा, तानसेन, तिनाउ र बगनासकाली हेर्ने गरि तानसेनमा र रिव्दिकोट र रैनादेवी हेर्ने गरि अमलावासमा स्थानीय जनगणना कार्यालय खोलिएको जिल्ला जनगणना कार्यालय पाल्पाका जनगणना अधिकारी भविश्वर घिमिरेले बताउनुभयो । रामपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख बिकल काफ्लेलाई फोकल पर्सन तोकेर जनगणनाको कामको जिम्मा दिई अब नगरमा जनगणना अभियान शुरु गरिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । रामपुर नगरपालिकामा १३ सुपरिवेक्षक र ४२ जना गणक खटाएर जनगणनाको तथ्यांक लिइने उहाँले बताउनुभयो । यसैगरी निस्दीमा ६ सुपरिवेक्षक र २४ जना गणक खटिने स्थानिय जनगणना अधिकारी बिकल काफ्लेले बताउनुभयो । पाल्पा जिल्लामा जनगणना गर्नका लागि कुल ४ सय ८६ जना कर्मचारीहरु खटिनेछन् । जसमा ३ सय ९२ गणक र ९४ सुपरिवेक्षक स्थानिय तहमा परिचालन हुनेछन् । सुपरिवेक्षकको २ महिना र गणकको १ महिनाको नियुक्ति हुनेछ । यस जनगणनामा सुपरिवेक्षक तथा गणकले ३ चरणमा तथ्यांक संकलन गर्नेछन् । पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण फाराम आउदो बैशाख २६ देखि जेष्ठ १४ सम्म २० दिन लगाएर लिनेछन् । मुख्य प्रश्नावली फाराम आगामी जेष्ठ २५ देखि असार ८ सम्म १५ दिनमा घरको सबै तथ्यांक लिएर संकलन गरिनेछ भने त्यसपछि सुपरिवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावली मार्फत वडास्तरको आधारभूत स्रोत साधन, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरण संकलन गर्ने जिल्ला जनगणना अधिकारी घिमिरेले जानकारी दिनुभयो। जनगणनामा ३ प्रकारका प्रश्नावली प्रयोग गरिनेछ । साथै यसपटक खाली घरको पनि गणना गरिनेछ । मुलत जनसांख्यिक, शैक्षिक, सामाजिक, आर्थिक, स्वास्थ्य सम्वन्धी विवरणहरु मुख्य प्रश्नावलिमा समावेश गरिएको छ भने सामुदायिक प्रश्नावली सवै वडा कार्यालयहरुबाट सुपरिवेक्षकले भर्नेछन् । चैत्र १ गते ४ महिनाको जिम्मेवारी सहित जिल्ला जनगणना कार्यालयको स्थापना भएर काम शुरु भएकोमा ३ महिना अबधीमा काम पूरा गर्ने गरि स्थानीय जनगणना कार्यालयहरु खुलेका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update