Erani Mahal
पाल्पा लगायतका क्षेत्रमा आगलागीका घटनामा बृद्धि
fire
पाल्पा- लामो समयको खडेरीले जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना बढेको छ । चैतको पहिलो सातादेखि २० दिनको अबधिमा जिल्लाका सय बढी स्थानमा लागलागी भएको छ । डिभिजन वन कार्यालय पाल्पाका अनुसार पछिल्लो २० दिनको अबधिमा जिल्लाका ८० भन्दा बढी सामुदायिक वन र अन्य स्थानमा समेत आगलागी भएको छ । कार्यालयका अनुसार जिल्लाका ८० भन्दा बढी सामुदायिक वनका एक हजार ६९४ हेक्टर जङ्गलमा आगलागी भएको छ । वन कार्यालयका रेन्जर यमलाल पोखरेलले दैनिक तीन सय बढी हेक्टर वन क्षेत्रमा आगलागी भईरहेको जानकारी दिनुभयो । आगो नियन्त्रण गर्न विभिन्न कार्यक्रम गरेपनि यो वर्ष आगलागीका घटनामा कमी आउन सकेको छैन । मानिसले झाडी सफा गर्ने, बुट्यान हटाउने, घाँस पलाउँछ भन्नृ मान्यता, किर्ना भगाउँन, हिंस्रक वन्यजन्तुको आक्रमण रोक्न लुकीछिपी आगो लगाउने गरेका वनका कर्मचारीको दावी छ । यद्यपी वनमा आगो लगाएको प्रमाण भने हालसम्म फेला नपरेको पोखरेलले बताउनुभयो । हाल पाल्पाको रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ, तानसेन, बगनासकाली क्षेत्रका जङ्गलमा सबैभन्दा धेरै सामुदायिक वनमा आगलागी भएको छ । यस्तै रामपुर, पूर्वखोला, निस्दी, माथागढीका विभिन्न सामुदायिक वनमा समेत आगो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । अहिले दिनहुँ सल्ला र सालका रुख भएका पाँच देखि दश वटा सामुदायिक वनमा आगो लागेको छ । दैनिक पाँच/सात वटा वनमा आगो लागेपछि जिल्लामा रहेको डढेलो नियन्त्रण तथा उद्दार समितिलाई समेत काम गर्न सकस भएको छ । आगो निभाउने बरुणयन्त्र पर्याप्त नहुँदा बस्तीतर्फ लागेको आगो निभाउन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा हाल तानसेन नगरपालिकाको मात्रै एउटा आगो निभाउने बरुणयन्त्र छ । अहिले धेरै स्थानमा आगो लागेका कारण बरुणयन्त्रको अभाव भएको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । तस्विर यमलाल पाेखरेलकाे सहयाेगमा ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update