Erani Mahal
३३ पाल्पाली आमाहरूको संयुक्त तीज गीत सार्वजनिक
173147608_956871261787061_581089142567045710_n
भोजराज भट्टराई पाल्पा - जीवनका अनुभव, भोगाइ र वेदना समेटिएको ३३ पाल्पाली आमाहरूको संयुक्त तीज गीत कृति आज तानसेनमा सार्वजनिक भयो । कार्यक्रमकी प्रमुख अतिथि तानसेन मेहल्धारा पाल्पाकी ९४ वर्षीय आमाले एक समारोहमा उक्त कृति सार्वजनिक गर्नुभएको हो । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पाले आयोजना गरेको कार्यक्रममा कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार सरीता रेग्मी र गुणवती केसीले आमाहरूको खोजीमुलक कृति मौलिक र संस्कृतिको खजाना भएको बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संविधान सभा सदस्य नारायणी शर्माले दुर्लभ सामग्री सहित प्रकाशित कृति महत्त्वपूर्ण दस्तावेज हुने धारणा राख्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख तथा साहित्यकार टंक भट्टराईले पाल्पाली आमाहरूका गीतलाई कृतिमा समावेस गरेर नारी साहित्यकारहरूले रचनात्मक कार्य गरेकोमा बधाई ज्ञापन गर्नुभयो । यस्तैगरी शुभेच्छा मन्तव्य राख्दै साहित्यकार टंक पन्थ, रामप्रसाद अर्याल, शारदा खनाल, भोजराज भट्टराई, राम ज्ञवाली, मन गहिरे, शालिकराम पाण्डे, लीलाबहादुर कार्कीले कृतिमा नारी वेदनाका भावहरू र पाल्पाली भुगोल विशेषको संस्कृति समेटिएकोले कृति महत्त्वपूर्ण रहने बताउनुभयो । सोही अवसरमा साहित्यकार तथा सामाजिक अभियन्ता लिलाबहादुर कार्की, शैक्षिक सामाजिक व्यक्तित्व राधा भारती, शालिकराम पाण्डे, मन गहिरे, रामराज ज्ञवाली, शारदा ढकाललगायतलाई सम्मान गरिएको थियो । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पाकी अध्यक्ष लक्षीमा ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष विजया पन्तको स्वागत रहेको कार्यक्रमको सञ्चालन तुलसा नेपालले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update