Erani Mahal
मालिका गुल्मीका ३ सय १० जना महिलाको स्वास्थ्य परीक्षण
malika-health-696x522
गुल्मी- जिल्लाको मालिका गाउँपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरबाट ३१० जना महिलाहरुले सेवा लिएका छन् । गाउँपालिका भित्रका अति दुर्गम स्थानका महिलाहरुलाई लक्षित गरी शिविर संचालन गरेको मालिका गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिका वडा नम्वर दूई दर्लिङको चैनडाँडा स्वास्थ्य चौकी, वडा नम्वर पाँच छापहिलेको छाप सामुदायिक स्वास्थ्य इकाई ,वडा नम्वर छ अर्जेको कुमालगाउँ स्वास्थ्य इकाईबाट ३१० जना महिलाहरुले महिला सम्बन्धी समस्याको बारेमा चेक जाँच , परामर्श र औषधी बितरण गरिएको गाउँपालिकाका प्रबक्ता एंव वडा नम्वर छ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिनुभयो । स्थानीय सरकार जनताको सुख दुःखमा सधै साथमा रहेकाले आँफूहरुको कार्यकाल भर जनताकै सेवामा लागि परिरहने गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताउनुभयो । उहाँले जनताको स्वास्थ्य प्रति स्थानीय सरकार सधै गम्भीर भएर लागेको समेत दाबी गर्नुभयो । दुर्गमका महिलाहरु अझै पनि बिभिन्न रोगहरु लुकाएर राख्ने र समयमै चेकजाँच नगर्दा पछि त्यसकै कारण जटिल समस्याहरु उत्पन्न हुन सक्ने भएकाले त्यसको अन्त्य गर्नका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाको दूई लाख रुपियाँ बजेटबाट उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो । महिलाहरुको पाठेघर सम्बन्धी , पेट सम्बन्धी समस्याहरुको बारेमा डाक्टर राजन ओलीयाको नेतृत्वको सात जनाको टोलीले सेवा प्रदान गरेको हो ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update