Erani Mahal
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित
bipul-pokharel-1
काठमाडौं - नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित हुनुभएको छ । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । शनिबार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् । एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत पाएकी छन् । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ४९१ मत पाएका छन् । पदाधिकारीमा विपुलकै प्यानलका उम्मेदवार निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित हुनु भएको छ । महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल र समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य निर्वाचित हुँदा कलेन्द्र सेजुवाल कोषध्यक्ष र लेखनाथ न्यौपाने लेखा समिति संयोजक चुनिनुभएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update