Erani Mahal
गर्मीसँगै पाल्पाका अधिकांश जंगलमा आगोलागी
palpad
पाल्पा- गर्मी बढेसँगै पाल्पाका अधिकाँस वनजंगलहरुमा आगोलागी भएको छ । चैत महिना लागेसँगै पाल्पाका विभिन्न सामुदायिक, नीजि तथा सरकारी वनमा दिनहुँ जसो डढेलोका घटनाहरु बढ्ने गरेका छन् । अहिले यहाँका अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुको साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् । यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् । अहिलेसम्मा जिल्लाका ६४ वटा सामुदायिक जङ्गलमा डढेलो लागेको छ । डढेलोबाट ६४ वटा सामुदायिक वनको १ हजार ५ सय १० हेक्टर जमिनको घाँसपात दाउरा काठपात जलेर नष्ट भएको छ । दिनहुँ बढ्दो गर्मीसँगै लामो सयमदेखी पानी नपरेकाले दिनहँु पाल्पामा आगलागीका घटना बढ्दै गएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । दैनिक दुई देखी तीन सय हेक्टर जमिनमा आगलागी हुंदै आएको डिभिजन प्रमुख डा.मोहन पौडेलले बताउनुभयो । आगलागीबाट क्षतिको विवरण संकलन भईरहेको डिभिजन प्रमुख पौडेलले बताउनुभयो । आगलागीका घटना दिनहुँ बढ्दै गएपछी पाल्पाकै ४ वटै सुरक्षा निकाय उच्च सर्तकतामा खटिएका छन् ।जङ्गलमा लागेको डढेलो घरबस्तीमा नफैलियोस् भनी सबै किसिमका तयारीहरु गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले बताउनुभयो । ५ वर्षपछी पाल्पामा सबैभन्दा ठूलो आगलागी भएको कार्यालयका सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो । आगलागीका घटनामा सहभागीहरुको खोजबिन भईरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । गतबर्ष निरन्तर पानी परेको, यो समयमा लकडाउन भएकाले अधिकाश मानिसहरु घर-घरमा बसेको कारण पाल्पामा कुनै पनि आगलागीका घटना नभएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । आगलागीको कारण वायु प्रदुषण भएपछि पाल्पामा विहान साँझ पानी पर्ने जस्तै तुवालोले आकाश ढाकेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update