Erani Mahal
रामपुरमा सकियो चौथो मेयर कप २०७७ खेलकूद प्रतियाेगिता
रामपुर (1)
पाल्पा - रामपुर नगरपालिकामा जारी चौथो मेयर कप २०७७ सकिएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ रामपुर नगर खेलकुद विकास समितिले चैत्र १० गते मेयर कप शुरुवात गरेको थियो । मेयर कपमा खेलकुदका विविध ७ विधामा प्रतिस्पर्धा भएको थियो । मटेरी ठुलोटार र रामतुलसी माबि खेल मैदान बेझाडमा प्रतियोगिता आयोजना गरिएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समापनका अबसरमा खेलाडीहरुलाई पुरस्कृत गर्दै खेलकुदमा हुने प्रतिस्पर्धाले जित्न मात्र नभई हार्दै गर्दा पनि जित्नको लागि आवश्यक ज्ञानको विषयमा सचेत गराउने बताउनुभयो । मेयर कपमा नगर भित्रका १० वटै वडाले भाग लिएका थिए । बिधागत रुपमा विभिन्न पुरस्कार प्राप्त गरेको आधारमा ५ नम्बर वडा ७ स्कोर सहित रनिङ्ग शिल्ड प्राप्त गर्न सफल भयो । अनुशासित वडाको रुपमा वडा नं. ६ ले सम्मान पायो । त्यस्तै सोताको कराते डोजाङ्ग बाट ब्ल्याक बेट प्राप्त ७ खेलाडी सम्मान भएका थिए । मेयर कप समापनमा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले अन्तराष्ट्रिय स्तरसम्म पुग्नको लागि स्थानीय स्तरमा हुने प्रतियोगिता महत्वपुर्ण हुने बताउनुभयो । रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले उत्कृष्ट खेल प्रदर्शनमा वडाको भुमिका महत्त्वपूर्ण भएकोले इमान्दारीता आबश्यक हुने बताउनुभयो । वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले खेलमा हुने हारजितलाई स्वीकार्दै विचलित नभैकन आफ्नो गन्तव्यमा अघि बढ्न आग्रह गर्नुभयो । विविध साँस्कृतिक कार्यक्रमका साथ भएको पुस्कार वितरण समारोहमा विजेता वडा तथा खेलाडी र उत्कृष्ठ खेलाडीलाई विधागत सम्मान गरिएको थियो । साथै मेयरकप सञ्चालनमा सहयोग गर्ने पत्रकार,व्यक्तिगत तथा संस्था र रामपुर ९ को पन्चेबाजा समुहरलाई सम्मान गरिएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम खेल संयोजक किरण मल्लको स्वागत, महासचिव राजु गुरुङ र सचिव सञ्जु परियारको सञ्चालनमा भएको हो । प्रतियोगिता अन्तर्गत पुरुष भलिबल तर्फको उपाधी वडा नं. ९ ले हात पारेको छ । फाईनल खेलमा वडा नं. ५ लाई ३/२ सेटले पछि पार्दै वडा नं. ९ ले उपाधी चुमेको हो । यस संगै वडा नं. ९ प्रथम र वडा नं. ५ द्वितीय र वडा नं. १ तृतिय भयो । प्रथम, द्धितिय र तृतियले क्रमश नगद ६० हजार, ४० हजार र ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । वेष्ट प्लेअर वडा नं. ९ का सन्दिप दमै, वेष्ट डिफेन्डर वडा ९ का लुक बहादुर खन्गाहा, वेष्ट सेटर वडा नं. ९ का अम्मर खन्गाहा, वेष्ट स्पाईकर वडा नं. ५ का सन्तोष थापा, वेष्ट सर्भर वडा नं. ५ का गम्भीर सिंह ठकुरी, वेष्ट क्वीकर वडा नं. ३ का विमल थापा दर्लामी, राईजिङ्ग प्लेअर वडा नं. १ का केशव थापा भए । महिला भलिबल तर्फको उपाधी वडा नं. १० ले हात पार्यो । फाईनल खेलमा वडा नं. ९ लाई ३/० को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको हो । यस संगै वडा नं. ९ द्वितिय भएको छ भने वडा नं. ४ तृतिय भएको छ । मेयर कपमा सञ्चालित फुटबल प्रतियोगिताको उपाधी साविक विजेता वडा नं. ६ ले नै जितेको छ । वडा नं. ५ लाई संग भएको फाइनल खेलमा २/० गोलले पराजित गर्दै उपाधी ६ ले जितेको हो । फाईनल खेलको पहिलो हाफको दुई मिनेट मै वडा नं. ६ का राजिव क्षेत्रीले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका दिए । दोस्रो हाफ शुरु भएको आधा मिनेटमै वडा नं. ६ का अनिल सुनारले एक गोल गरेर आफ्नो टिमलाई थप अग्रता दिलाए । यस संगै वडा नं. ५ द्धितिय भएको छ । तृतिय वडा नं. ३ भएको छ । पेनाल्टीमा वडा नं. १० लाई ३/२ गोलले पराजित गर्दै वडा नं. ३ तृतिय भएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश: नगद ६५ हजार, ४५ हजार र ३० हजार नगद सहित रनिङ् शिल्ड, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेष्ट प्लेअर वडा नं. ५ का विशाल मल्ल, वेष्ट मेडफिल्ड वडा नं. ५ का कसम मल्ल, वेष्ट किपर वडा नं. ६ का सुरज शाही, वेष्ट डिफेन्स ६ का मनोज क्षेत्री, हाईस्कोरर वडा नं. ६ का राजिव क्षेत्री, राईजिङ्ग प्लेअर वडा नं. ६ का सुजन थापा, वेष्ट कोच वडा नं. ६ का सुन्दर मल्ल हुनु भएको छ । यता क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ८ ले जितेको छ । फाईनल खेलमा वडा नं. ४ लाई ७ विकेटले पराजित गर्दै वडा नं. ८ ले उपाधी हात पारेको हो । यस सगै साविक विजेता वडा नं. ४ उपविजेतामा सिमित भएको छ । फेयस प्ले अवार्ड वडा नं. ३ भएको छ । प्रतियोगितामा वेष्ट ब्याट्स मेन वडा नं. ४ का साविर अली, वेष्ट बलर वडा नं. ८ का युवराज कामी र म्यान अफ द सिरिज वडा नं. ८ का पूर्ण घर्ती भए । चौथो मेयरकप अन्तर्गत भएको व्याटमिण्टन प्रतियोगिताको उपाधी शंकर बहादुर खाँण र सुन्दर कंडेलको जोडीले हात पारेको छ । फाईनल खेलमा केशव मल्ल र देव श्रेष्ठको जोडीलाई सोझो सेटमा पराजित गर्न सफल भएका थिए। मल्ल र श्रेष्ठको जोडी द्वितीय भएको छ । प्रतियोगितामा अशोक पाण्डे र सुदनराज भण्डारीको जोडी र नारायण श्रेष्ठ र मिलन आलेको जोडी तृतिय भएको छ ।व्याटमिण्टन तर्फ प्रथम, द्धितिय र तृतियले क्रमश नगद २० हजार, १५ हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी गंगा माध्यमिक विद्यालयका छात्रा प्रशंसा अधिकारीले हात पारिन् । दरैठाँटी माध्यमिक विद्यालयका अस्मिता खनाल द्वितिय, तृतिय नवदुर्गा माध्यमिक विद्यालयका सविना अधिकारी भइन् । प्रतियोगितामा १० विद्यालयका विद्यार्थी सहभागी थिए । नगर खेलकुद विकास समिति द्वारा सञ्चालित ‘सुशासन युक्त, सम्मुन्नत विकास, रामपुर नगरको आवश्यकता’ विषयक वक्तृत्वकलामा विजयी प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । रामपुर नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र खेलकुद विकास समिती बिच मैत्रीपुर्ण फुटवल खेल समेत भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update