Erani Mahal
रामपुर साना शहरी खानेपानी संस्थाकाे वार्षिक साधारण सभा तथा सम्मान
sanakisan Rampur (1)
पाल्पा - रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको चौथो बार्षिक साधारण सभा पाल्पाको रामपुरमा सकिएको छ । शहरीकरण हुदै गएको रामपुरमा खानेपानीको दीर्घकालीन व्यबस्थाका लागि २०६७ सालमा स्थापना भएको यस सस्थाले अपेक्षित १५ बर्षको जनसंख्यालाई आधार मानेर योजना संचालन गरेको छ । बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश सांसद युवराज खनालले पानी जिवनओ अभिन्न अङ्ग रहेको बताउनुभयो । कतिपय विकास केन्द्र, प्रदेश र स्थानिय सरकारको द्दुबिधामा रहेको उल्लेख गर्दै खनालले ठुला योजना प्रदेश सरकारबाट पार्न पहल गर्ने बताउदै १५/२० लाखका खानेपानी योजना स्थानिय सरकारको व्यवस्थापनमा जोड हुनुपर्ने बताउनुभयो । उहाँले केही योजना यसबर्ष पनि स्थानियको कार्यक्रममा रहेको उल्लेख गर्दै यो प्रयाप्त नहुने सुझाउनुभयो । पानीको महत्व स्मरण गर्दै खनालले कालीगण्डकी नदीमा पानीजहाज संचालनको संभाव्यताले यही हप्ता टोली आएर अध्ययन गरेकोमा पर्यटन र अन्य विकासको लागि यो महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कालीगण्डकी डाइभर्सनको नागरिक स्तरबाट खुलेर विरोध भैरहेपनि डाइभर्सन भएपनी कम पानी लाने वा तराइको भुमिपनी सिंचाइ हुनुपर्छ भन्दै आउनुभएका खनालले पानीजहाज संचालनको लागी अध्ययन संगै कालीगण्डकीमा पानीजहाज चले पर्यटन र यस क्षेत्रको विकास हुने भनाई राख्नुभएको हो । बार्षिक साधारण सभाको अबसरमा सस्था स्थापना देखि विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने २६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । २०६७ साल असार ७ गते तत्कालिन रामपुर गाबिस सचिव देवेन्द्र प्रसाद पोखरेलको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले कमलराज भट्टराईको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरि खानेपानी निर्माण योजनाको प्रक्रिया अगाडी बढेको हो । सोही अबसरमा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य बुद्धिराज गौतम, नेपाली काङ्ग्रेस नगर सचीव चिरञ्जीवी सिग्देल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जनकराज ढकाल, सहिद बहुमुखी क्याम्पसका अध्यक्ष देवराज ढकाल, रामपुर नगरपालिका-६ का अध्यक्ष एवं प्रबक्ता हुमनाथ न्यौपाने, सस्थापक अध्यक्ष कमलराज भट्टराई, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, पत्रकार सिर्जना घिमिरे, सम्मानित तत्कालीन तदर्थ समितिका सचिव देबेन्द्र प्रसाद पोखरेल लगायतले रामपुरमा चलेको साना शहरी खानेपानी र अबको जनसंख्यालाई मध्यनजर गर्दै गर्नुपर्ने तदारुकताका बिषयमा आफ्ना भनाई राख्नु भएको थियो । नेपाल सरकारको ५० प्रतिशत, एशियाली विकास बैंक, नगर विकास कोषको ४५ प्रतिशत एवं ५ प्रतिशत उपभोक्ताको सहभागितामा २६ करोड ४० लाख १५ हजार ८ सय ५७ रुपैयाको लागतमा यो योजना निर्माण भएको थियो । एक घर -एक धारालाई प्राथमिकता दिएको यस योजना अन्तर्गत हाल ३ हजार ५ सय १० घरधुरी उपभोक्ता रहेका छन् । आयोजना अन्तर्गत ५ वटा भुमिगत श्रोत डिप बोरिङ- रामपुर नगरपालिका, रामपुर आयुर्वेदिक अस्पताल परिषर र इलाका प्रहरी कार्यालय परिषर नजिकबाट ३७ लिटर प्रति सेकेन्ड पानी आउनेछ भने बिरेन्द्रनगर र सहिद बहुमुखी क्याम्पस नजिक स्किमबाट प्रती सेकेन्ड १७ लिटर पानी आउने गर्छ । विद्युत नहुदा २ वटा जेनेरेटरको व्यबस्था छ । विभिन्न स्थानमा गरि हाल १३ लाख लिटर पानी क्षमताको ट्यान्की छ । रामपुर नगरपालिका वडा नम्बर ४,५,६ र ७ वडामा संचालित यो योजनाको लागि झण्डै १ सय ४७ किलोमिटर पाइप बिछ्याइएको खानेपानी सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सरसफाइ अन्तर्गत ८ कोठे शौचालय निर्माण र ३६ सय मिटर नाला तथा ढल व्यबस्थापनमा खानेपानीले योगदान गरेको उहाले बताउनुभयो । खुलादिसा मुक्त अभियानमा खानेपानी क्षेत्रका ३ सय ४४ घरमा नगरपालिका र तत्कालीन जिविसको समन्वयमा शौचालयमा निर्माण गर्न सस्थाले सहकार्य गरेको थियो । दैनिक साझ र बिहान घर-घरका धारामा पानी आउने यो योजनामा अहिले उपभोक्ताले मिटर रिडिङ बाट रकम भुक्तानी गर्छ्न् । जस अन्तर्गत १० युनिट सम्मको २७५, २० युनिट सम्मको थप ४२ रुपया र २१ युनिट भन्दा माथी थप ६३ प्रतियुनिट रकम उपभोक्ताले बुझाउदै आएका छन् । सस्थाका अध्यक्ष श्रेष्ठले रामपुर ४ र ५ को माथिल्लो भेगलाई पानीमा सहज बनाउन प्रयत्न गर्ने, आधारभुत विद्यालय नजिक ४ लाख लिटरको ट्यांकी निर्माण गर्ने, स्वास्थ्य सरसफाइका कार्यक्रमलाई प्राथमिकता दिने, पानीको पाइप बिग्रीएको स्थानमा मात्र पानी बन्द गरि मर्मत गर्ने व्यबस्था मिलाउने लगायतका कार्यक्रम आगामी दिनको प्राथमिकतामा रहेको बताउनुभयो । कोभिडको समयमा सस्थाले उपभोक्तालाई सहुलियत स्वरुप चैत महिनाको महशुलमा ५० प्रतिशत र बैशाख जेठमा २५/२५ प्रतिशत छुट दिएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा रामपुर ४ को कासजरी र मास्टर गाउको खानेपानीको समस्यालाई मध्यनजर गर्दै गत असारमा ३५ घरधुरीमा खानेपानी सुविधा दिएको छ । बार्षिक साधारण सभामा सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले अध्यक्षको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिष्णुमाया ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सभाले पास गरेको छ । खानेपानी सस्थाले यस अघि क्लस्टर अनुसार सुझाब संकलन गरि बार्षिकोत्सवको आयोजना गरेको हो । रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षता, सस्थाका सदस्य टेक बहादुर बि. क.को स्वागत, सदस्य कमल सेनको धन्यवाद र खानेपानी सस्थाका सचिव शालिकराम सिग्देलको सञ्चालनमा कार्यक्रम भएको हो ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update