Erani Mahal
रामपुरमा चैत १० गतेदेखि चौथो मेयर कप  खेलकुद प्रतियाेगिता
ramm
पाल्पा - आगामी चैत्र १० गते देखि पाल्पाको रामपुरमा ‘चौथो मेयर कप–२०७७’ हुने भएको छ । "खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान" भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा चौथो संस्करणको मेयर कप हुन लागेको हो । नगर खेलकुद विकास समितिले शुक्रबार मटेरी खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत १० देखि १४ गतेसम्म विभिन्न बिधामा खेल हुने जनाएको हो । विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका सहित सञ्चालन हुने मेयर कपमा यस वर्ष नगर भित्रका खेलाडीहरु विच ७ वटा विधामा प्रतिस्पर्धा हुने नगर खेलकुद समितिका अध्यक्ष शंकर बहादुर खाणले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, वडा स्तरिय महिला भलिबल प्रतियोगिता, वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता, वडा स्तरिय पुरुष क्रिकेट प्रतियोगिता, व्याटमिण्टन प्रतियोगिता, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता र माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिता हुनेछ । मेयर कपको उद्देश्य, प्रतियोगिताको पुरस्कार राशी र नियमहरु सार्वजनिक गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले विगतका गल्तीहरुलाई सच्याएर अघि बढ्ने बताउनुभयो । उहाँले मेयर कपमा नगर भित्रका खेलाडीहरुले आफ्नो वडाबाट मात्र सहभागीता जनाउन सक्ने बताउनुभयो । प्रतिस्पर्धा अन्तर्गत पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार, वडा स्तरिय महिला भलिबल प्रतियोगिता अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५० हजार, ४० हजार र ३० हजार, वडा स्तरिय पुरुष फुटबल अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद ६५ हजार, ४५ हजार र ३० हजार सहित मेयर कप, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक किरण मल्लले जानकारी दिनुभयो । वडा स्तरिय पुरुष क्रिकेट अन्तर्गत विजेता, उपविजेता, फेयर प्ले टीम र म्यानअफ दि म्याचले क्रमश नगद ५० हजार, ३५ हजार र २५ हजार, ८ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र, व्याटमिण्टन अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद २० हजार, १५ हजार र १० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद १५ हजार, १० हजार र ८ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउनेछन् । नगरका माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिता तर्फ प्रथम, द्धितिय र तृतियले क्रमश: नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल समितिका महासचिव राजु गुरुङ्ग्ले जानकारी दिनुभयो । सोही अबसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुगेका खेलाडीलाई पुरस्कृत गर्दै, स्थानीय प्रतिभाको उजागरका लागि खेललाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेल प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा खेल संयोजक किरण मल्लले स्वागत गर्नुभएको थियो भने समितिका सचिव सञ्जु परियारको सञ्चालनमा कार्यक्रम भएको हो । सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, वडाध्यक्ष हिमाल मल्ल सहित जनप्रतिनिधि, पत्रकार, खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update