Erani Mahal
तानसेनकाे अल्पकालिन, मध्यकालिन र दीर्घकालिन बृहत याेजना तयार
tansen yojana1
पाल्पा – तानसेन नगरपालिकाले नगरको विकास गर्न नगर बृहत योजना तयार गरेको छ । नगरपालिकाले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना समेटेर नगर बहृत योजना तयार गरेर सार्वजनिक गरेको हो । अष्ट्रेयाली सहायता र द एसिया फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत नगर योजना निर्माण गरिएको हो । तानसेनको समग्र विकास गर्न अल्पकालिन (२–३) वर्षका योजना, मध्यकालिन (३–७) वर्षका योजना र दीर्घकालिन (८–२०) वर्षका योजनाहरू बृहत योजना समावेश गरिएको तानसेन नगरपालिकाले जनाएको छ । बस्ती स्तरका मानिस तथा सरोकारवाला पक्षसँगको छलफलबाट योजना तयार गर्न सफल भएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । नगर बृहत योजनामा नगरको विकास कसरी गर्ने भनेर खाका तयार पारेको नगर प्रमुख शाहीले बताउनुभयो । प्रस्तावित अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तयार भएपछि अब नगरको विकास गर्न सहज भएको उहाँले बताउनुभयो । नगर बृहत योजना–२०७७ नाम दिइएको पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सभासद् वीर बहादुर रानाले नगरपालिकाले तयार गरेको बृहत योजना कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले योजना ल्याएर पनि कार्यान्वयन पक्ष सुधार हुन नसकेको भन्दै जनतालाई केन्द्रमा राखेर सबै पक्ष सुध्रिनुपर्नेमा जोड दिनुभयो । उहाँले पाल्पा जिल्लाको विकासमा तानसेन नगरपालिका नमूना बनेर देखाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले अल्पकालिन योजनाका लागि दुई अर्ब १६ करोड रुपियाँ लागत अनुमान गरेको छ । यस्तै मध्यकालिन योजनाका लागि छ अर्ब ६५ करोड रुपियाँ लागत लाग्ने अनुमान गरेको छ । नगरपालिकाले समग्र रुपमा हरेक वर्ष बृहत योजना कार्यान्वयन गर्न एक अर्ब २८ करोड रुपियाँ खर्च लाग्ने अनुमान छ । बृहत योजनामा आर्थिक, सामाजिक, पूर्वाधार, वन तथा वातावरण र संस्थागत विकास तथा सुशासन पक्षलाई समेटिएको छ । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बृहत योजनालाई तानसेनको विकासमा मार्गदर्शकका रुपमा लिएर कार्यान्वयन गरिने बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष सागरमान महर्जन, नागरिक समाजको तर्फबाट सोमनाथ अर्याललगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा तानसेन नगरपालिकाले प्रकाशन गरेको त्रैमासिक बुलेटिन ‘हाम्रो तानसेन’ सार्वजनिक गरिएको थियो । यस्तै पर्यटन विकास समितिले पर्यटन प्रबद्र्धन गर्न तयार गरेको ब्रोसर समेत सार्वजनिक गरिएको थियो । कार्यक्रम नगर प्रमुख अशोककुमार शाहीको अध्यक्षता, वडा नं. ५ का अध्यक्ष रामबहादुर रावलको स्वागत र सामाविक विकास शाखा अधिकृत भरत आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update