पाल्पा - कालीगण्डकी नदीको शालिग्राम शिलाको संरक्षणका लागि कालीगण्डकी किनार रामपुर १ टापुधाममा निर्माण गरिएको शालिग्राम संग्रहालयको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गर्नुभएको छ ।
भगवान् बिष्णुको रुपमा पुजन गर्ने शालिग्राम शिला लोप हुने जोखिम संगै यसको महत्त्व प्रचार प्रसार गरि पर्यटक भित्र्याई यस क्षेत्रको विकासका लागि संग्रहालय स्थापना गरिएको हो । बिश्वमा शालिग्राम पाइने एक मात्र नदी कालीगण्डकी हो । मुक्तिनाथको रुपमा बिकास गर्ने लक्ष्य लिइएको टापुधाममा रामपुर नगरपालिकाको ८ लाख, नेपाल पर्यटन बोर्डको ५ लाख र स्थानीयको ३ लाख ४२ हजारको श्रमदान गरि १६ लाख ४२ हजारको लागतमा संग्रहालय निर्माण गरेको टापुधाम क्षेत्र विकास समितिका अध्यक्ष टिकाराम सिग्देल क्षेत्रीले बताउनुभयो ।
हाल स्थानीयले संकलन गरेको २ हजार ६ सय १६ वटा शिला संग्राहालयमा राखिएको छ । संग्रहालयको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर क्षेत्रको धार्मिक पर्यटन विकास संगै शालिग्रामको संरक्षणले विश्वको ध्यान तान्न सकिने बताउनुभयो । "गण्डकी बेशी क्षेत्रका जनताको अस्तित्व पवित्र कालीनदी संग जोडिएको छ,थापाले भन्नुभयो- मुक्तिनाथ देखि बहदै आएकी कालीगण्डकी स्वच्छ,सफा कन्चल नदीको रुपमा बिकास गर्दै नदीमा र्याफ्टिङ, नदी वारीपारीका धर्मस्थल जोगाउने दायित्व स्थानिय संग बढी हुन्छ"। थापाले घरमा भएका र नदीमा खोजेर महत्त्वपूर्ण अनौठा शिला संग्रहालयमा राख्न सकिने बताउनुभयो ।
नदी क्षेत्रमा हुने गतिविधिहरुले पछिल्लो समय शालिग्राम शिला लोप हुने खतरा बढेको छ । विश्व बजार शालिग्राम शिलालाई भगवान् बिष्णुको रुपमा पुजन गरिन्छ। संग्राहालयमा दामोदर कुण्ड देखि देवघाट सम्मका विभिन्न स्थानबाट समिति पदाधिकारी र स्थानियले संकलन गरेका शालिग्राम शिला राखेर शिला दर्शन र अबलोकनका लागि खुला गरिएको हो ।
एक दशक अघि सम्म नदी किनारमा सहजै शिला पाइन्थ्यो । पछिल्लो समय नदीमा शालिग्राम विगतको तुलनामा पाईन छाडेको छ । अनाधिकृत रुपमा गिटी ढुङ्गा बालुवा संकलन तथा नदी उत्खननका कारण शालिग्राम शिला कम भेटिन थालेको हो ।
सो अबसरमा रामपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मित्रलाल कंडेल, वडा नं. २ का वडाध्यक्ष तारा बहादुर थापा, रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँण, नेपाली कांग्रेस रामपुरका नगर सचिव चिरञ्जीवी सिग्देल, रामपुर नगरपालिका १ का वडा सदस्य गम बहादुर मल्ल, नेपाल तरुण दल पाल्पाका सहसचिव कुमार खाँण, स्थानीय वसन्त बहादुर थापा र घिरिङ्ग गाउँपालिकाका रामप्रसाद श्रेष्ठ लगायतले बोल्दै धार्मिक महत्व बोकेको शालिग्राम शिलाको संरक्षणमा देखाइएको चासोको खुलेर प्रशंसा गर्नुभएको थियो । संग्रहालयको दिगोपना र यसको महत्त्व दर्शाउन स्थानियहरुको भुमिका महत्वपूर्ण हुने उनीहरुले बताएका थिए।
टापुधाम क्षेत्र विकास समितिका अध्यक्ष टिकाराम सिग्देल क्षेत्रीले संग्रहालयमा शिलाहरु थप्दै जाने र निकट समयमा नै १ लाख शिला सम्म पुर्याउने लक्ष्य रहेको बताउनुभयो । टापुधाम क्षेत्र विकास समितिका सहसचिव भलाविक्रम सिंहले टापुधामको विकासमा अब सबै पक्षलाई समेट्दै नमुना धार्मिक स्थल बनाउने गरि लागिएको बताउनुभयो । टापुधाम क्षेत्र विकास समितिका उपाध्यक्ष नारायण प्रसाद सिग्देलले टापुधानमा शिवरात्री पर्वमा ठूलो मेलाको रुपमा बिकास गरिएको र क्रमश: दैनिक पर्यटक भित्र्याउने गरि योजना अघि बढाइएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७ ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय