Erani Mahal
मोहन कन्या माविको छात्राबासलाई सामग्री सहयाेग
mm
पाल्पा – तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको छात्राबासलाई आवश्यक सामग्री सहयाेग गरिएको छ । छात्राबासमा रहेका विद्यार्थीहरूको बसाई व्यवस्थापन सहज बनाउन तानसेन नगरपालिकाले १५ सेट छात्राबास सामग्री प्रदान गरेको हो । विद्यालयको छात्राबासका लागि तन्ना, सिरानी, झुल, फलामका बेड, पि–फर्म र डसना प्रदान गरिएको हो । छात्राहरू बसाई सहज बनाउन छात्राबासका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । उहाँले अहिले पनि छात्राहरूलाई सहज रुपमा शिक्षा दिन प्रचलन नरहेको बताउँदै छात्राहरू शिक्षित बने मात्र समाज र राष्ट्र शिक्षित बन्ने विचार राख्नुभयो । तानसेन नगरसरकारले छात्रा तथा बालिकाको पठनपाठन सुधार गर्न छोरी शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । मोहनकन्या यस क्षेत्रकै पृथक विद्यालय भएकाले अहिलेको नेतृत्वलाई विस्वास गरेर सहयोग गरिएको र आगामी दिनमा पनि थप सहयोग गर्ने नगरप्रमुख शाहीले प्रतिबद्धता जनाउनुभयो । यस्तै तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले सानो सहयोगले विद्यार्थीको भविष्य सुधार हुनेमा विस्वास गर्नुभयो । कार्यक्रममा तानसेन ४ का कार्यबहाक अध्यक्ष गणेश थापा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष भरत शर्मा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष गोविन्द भट्टराई लगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्र गहिरेले मोहनकन्या माविलाई सुधार गर्न आफू प्रयत्नशील रहेको बताउनुभयो । उहाँले आफू अध्यक्ष भएदेखि नै विद्यालयको भौतिक सुधार, व्यवस्थापन सुधार, शैक्षिक सुधारको कार्यलाई अगाडि बढाएको बताउनुभयो । तानसेन नगरपालिकाले विस्वास गरेर विद्यालयको भौतिक पूर्वाधार लगायत व्यवस्थापन पक्षमा सहयोग गरेकोमा उहाँले धन्यवाद दिनुभयो । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्याक इन्दु खनालको स्वागत, शिक्षिका शान्ति सोमैको सञ्चालन र विव्यस अध्यक्ष झपेन्द्र गहिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update