Erani Mahal
विप्लव नेतृत्वकाे नेकपाकी पूर्व इन्चार्जद्वारा शान्तिपूर्ण राजनीतिमा रहने घाेषणा
nnn
पाल्पा – विप्लव नेतृत्वको नेकपा रहेर केही दिनअघि स्वतन्त्र बस्ने घोषणा गर्नुभएकी पार्वती विक (सामाना)ले अब शान्तिपूर्ण राजनीतिमा लाग्ने घाेषणा गर्नुभएकाे छ । नेकपा पाल्पा (ओली) समूहको संयोजनमा बिहीबार तानसेनमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अब आफू धेरैले गरेको राजनीतिमा सक्रिय हुने बताउनुभयाे । अब म धेरैले गरेकाे सहज राजनीतिमा क्रियाशिल हुन्छु उहाँले भन्नुभयो सशत्र विद्रोहबाट हालको अवस्थामा परिवर्तन सम्भव देखिएन । सशत्र विद्राेहबाट तत्काल परिवर्तन ल्याउने अवस्था देखिएन । विगतमा तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा पनि नेपाली जनताको आधारभूत जीवनमा परिवर्तन ल्याउन आफू क्रियाशिल रहेको बताउँदै उहाँले बाँकी रहेका कार्यभार पूरा गर्न विप्लवको नेतृत्वमा लागेपनि अब उक्त क्रान्ति सम्भव नरहेको विककाे भनाइ छ । विकले राजनीतिप्रति वितृष्णा जागेको बताउँदै आफू केही दिनअघिदेखि स्वतन्त्र बस्ने घोषणा गरेकाे बताउनुभयाे । तर स्वतन्त्र बस्ने घोषणा गरेको थाहा पाएपनि पूर्व सहकर्मीहरुले राजनीतिमै क्रियाशिल हुन आग्रह गरेकाले पुन राजनीतिमा क्रियाशिल हुन लागेको उहाँले बताउनुभयो । विकले नेपाली जनतामा परिवर्तनको अपेक्षा भएपनि प्रत्यक्ष सहभागिता नगर्ने प्रवृत्ति रहेकाले केही मानिसको चाहनाले मात्र परिवर्तन सम्भव नरहेको जिकिर गर्नुभयो । कार्यक्रममा नेकपा पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले विगतमा विभिन्न नाममा रहेका कम्युनिष्ट पार्टीहरुले चलाएको परिवर्तनका आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारले तराईमा जातीय आन्दोलन गरिरहेको सिके राउत पनि मूलधारको राजनीतिमा आएको बताउँदै अब विप्लव नेतृत्वको पार्टी पनि मूल धारमै फर्किएको बताउनुभयो । उहाँले विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी विकलाई पार्टीले उचित मुल्यांकन सहित भूमिका प्रदान गर्ने बताउनुभयो । नेकपामा प्रवेश गर्न लाग्नुभएका विक यसअघि विप्लव नेतृत्वको नेकपाको पाल्पा र गुल्मी जिल्लाको इन्चार्जको रुपमा रहनुभएको थियो । कार्यक्रम नेकपा जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यकाे अध्यक्षता र रामबहादुर राउतकाे संचालनमा सम्पन्न भएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update