Erani Mahal
पाल्पामा स्वास्थ्य विमा कार्यक्रम : रिफरले दिएकाे सास्ती
bima-1-copy
पाल्पा – स्वास्थ्य विमा गरेका सेवाग्राहीले सेवाभन्दा सास्ती पाएको गुनासो गरेका छन् । पाल्पामा स्वास्थ्य विमाबाट सेवा लिने सेवाग्राहीको सङ्ख्यामा बृद्धि भएपनि सरकारी अस्पतालबाट रिफर लिनुपर्ने बाध्यताले सेवाग्राहीले सास्ती बेहोर्नु परेको गुनासो गरेका हुन् । नेपाल सरकारले स्वास्थ्य बिमा गरेकाहरूले पहिलो पटक सरकारी स्वास्थ्य परीक्षण केन्द्र वा जिल्ला अस्पातालबाट सेवा लिनुपर्ने प्रावधान बनाएको छ । तर सरकार मातहत रहेका स्वास्थ्य केन्द्र र अस्पतालमा सेवा नपाउँदा सेवाग्राही नीजि अस्पतालमा उपचारका लागि जाने गरेका छन् । सरकारी अस्पतालमा भनेजस्तो सेवा नपाउँदा रिफर लिएर नीजि अस्पतालमा जानुपर्दा रिफर बनाउनुपर्ने बाध्यताले सास्ती बेहोर्नु परेको तानसेन–१० की गोमा न्यौपानेले गुनासो गर्नुभयो । विमा गरेका व्यक्तिले स्वास्थ्य उपचारको पहिलो चरणमा तानसेनस्थित सरकारी अस्पातालमा सेवा लिनुपर्ने हुन्छ । तर पाल्पा अस्पतालमा सबै सेवा नपाएको सेवाग्राहीको भनाई छ । ‘सरकारी अस्पतालमा भनेजस्तो सेवा पाइदैंन न्यौपानेले भन्नुभयो रिफर लिएर अन्तै जानुपर्छ तर रिफर लिनै एक दिन समय लाग्छ ।’ अस्पतालमा सेवा नपाउँदा एक दिनभर लाइनमा बसेर रिफर बनाउनुपर्ने बाध्यताले आफूहरू हैरान भएको सेवाग्राहीको भनाई छ । सरकारले की सरकारी अस्पताल राम्रो बनाउनुप¥यो होइन भने सिधैँ आफूले रोजेको अस्पतालमा सेवा लिन पाउनुप¥यो रिब्दीकोट–१, ख्याहाका नरबहादुर कुमालले भन्नुभयो । सरकारी अस्पतालमा आउदा सामान्य औषधि समेत नपाउँदा नीजि अस्पतालमा जानुपरेको उहाँले गुनासो गर्नुभयो । पाल्पा अस्पतालबाट सेवाग्राहीले भनेजस्तो सेवा नपाउँदा दैनिक ३०० बढी सेवाग्राही रिफरको कागजात बनाएर अन्यत्र सेवा लिन जाने गरेका छन् । पाल्पा अस्पतालमा रिफर गर्ने छुट्टै डेस्क समेत नहुँदा रिफर लिन आएका बिरामीले थप समस्या बेहोर्नु परेको छ । तर पाल्पा अस्पतालले भने विशेषज्ञ सेवाबाहेक सबै सेवा अस्पतालले दिइरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवरले बताउनुभयो । ‘हामीले विशेषज्ञ सेवा बाहेक सबै खालका सेवा दिएका छौँ कुँवरले भन्नुभयो बिरामी नै रिफर बनाउन भनेर आउँछन्, त्यसलाई हामीले मात्र रोक्ने अवस्था छैन ।’ सरकारले स्वास्थ्य बिमा जिल्लाको रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ, खस्यौली, पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा लागू गरेको छ । तर बिमा गरेकाहरूको छनौट र रोजाईमा भने मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज पर्ने गरेको छ । यसअघि मिसन अस्पतालमा बिमा गरेका मानिस साेझै उपचारका लागि जाने गरेकाेमा अहिले भने पुन मिसनमा उपचारका लागि जाँदा समेत रिफर बनाउनुपर्ने बाध्यता रहेकाे सेवाग्रही बताउँछन् ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update