Erani Mahal
पाल्पाकाे बगनासकाली फुसको छाना रहित गाउँपालिका !
GHAR
पाल्पा- जिल्लाकाे बगनासकाली गाउँपालिका फुसको छाना रहित गाउँपालिका घोषणा भएको छ। यस अभियानमा यो गाउँपालिका जिल्लाकै पहिलो बनेको छ। २०७४ सालदेखि सुरू भएको फुसको छानो रहित अभियान गत वर्ष सकिएको थियो । तर, कोरोनाका कारण घोषणा गर्न ढिलाई भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयाे । उहाँका अनुसार २५२ घरलाई जस्तापाता सहयोग गरिएको छ। यससँगै सिंगो गाउँपालिका फुसको छानो रहित बनेको छ। वडाबाट फुसको छाना भएको घरको विवरण लिएर जस्तापाता उपलब्ध गराएको बस्यालले बताउनुभयाे । ७५६ बन्डल जस्तापाता वितरण गरिएको छ। ६९ लाख रुपैयाँ बराबरको जस्तापाता वितरण गरिएको उहाँले जानकारी दिनुभयाे । पानी चुहिने घरमा बस्नुपर्ने यहाँका नागरिकको बाध्यता टरेको उहाँले बताउनुभयाे । तीन आर्थिक वर्षमा यो अभियान सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुरेस घिमिरेले बताउनुभयाे । उहाँका अनुसार २०७४/०७५ मा १५ लाख, २०७५/०७६ मा १५ लाख र २०७६/०७७ मा ३९ लाख बजेट विनियोजन गरेर फुसको छाना हटाउने अभियान थालिएको थियो । उहाँका अनुसार 'अब गाउँपालिकामा फुस खरले छाएका घर छैनन्।' यहाँका विपन्न तथा गरिब नागरिकलाई ओतमा राख्ने कामलाई पहिलो प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बताउनुभयाे । आगलागी र हावाहुरीले फुसको छाना उडाइदिने समस्या भएकोले जस्तापाता वितरण गरिएको उहाँले बताउनुभयाे । आगामी दिनमा यी नागरिकलाई अर्थोपार्जनमा जोड्ने विशेष खालका कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update