रानीमहलमा होटल बनाउने प्रस्तावकाे सवत्र बिराेध !

रानीमहल संवाददाता || १० फाल्गुन २०७७,सोमबार १९:५१
पाल्पा – रानीमहल दरबारलाई होटल बनाएर पर्यटकीय आकर्षणको केन्द्र बनाउनुपर्ने प्रस्तावको जिल्लाका सरोकारवाला निकायले बिरोध जनाएका छन् । पर्यटन बोर्डले ऐतिहासिक रानीमहललाई हेरिटेज होटल बनाउन प्रस्ताव गरेलगत्तै पाल्पाका अधिकांश नागरिकले यसको बिरोध गरेका हुन् ।
रानीमहललाई होटल बनाउन दिनु सर्वथा गलत हुने अधिकांश पाल्पाका नागरिकहरुले बताएका छन् । उनीहरुले सार्वजनिक संजालमार्फत पर्यटन बोर्डले हेरिटेज होटल बनाउन गरेको प्रस्तावको खुलेर बिरोध जनाएका छन् ।
तानसेन युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले रानीमहलको विकासमा बहुआयामिक दृष्टिकोणले छलफल गर्न सकिने तर होटल बनाउने प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो ।
त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक पुष्कर आचार्यले रानीमहल सेरोफेरोमा होटल बनाउने प्रस्ताव भए राम्रो हो तर रानीमहल दरबारलाई नै होटल बनाउने प्रस्ताव बुद्धि नभएकाबाट भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक संजालमा हेरिटेज होटल बनाउने प्रस्तावको बिरोध गर्नेहरुले रानीमहलभित्र व्यापार गर्न खोजेको आरोप समेत लगाएका छन् । केही दिनअघि पर्यटन बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीले रानीमहललाई होटल बनाएर हनिमुन स्पट बनाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो । कार्यकारी अधिकृत रेग्मीले रानीमहलको उपयोगका लागि उक्त प्रस्ताव गरेको बताउनुभएको थियो । उहाँले रानीमहल क्षेत्रलाई पर्यटकीय गुल्जार ल्याउन उक्त प्रस्ताव गरिएको संचाल माध्यम्मार्फत सार्वजनिक भएको थियो ।
रानीमहललाई हेरिटेज होटल बनाउने प्रस्तावको होटल संघ, पर्यटन व्यवसायीले समेत बिरोध गरेका छन् । पर्यटन व्यवसायीले रानीमहललाई नै होटल बनाउदा गलत सन्देश जाने र त्यसले पर्यटन व्यवसायीमाथि समेत अन्याय हुने बताएका छन् ।
नेपाल सरकारले रानीमहलको रेखदेखको जिम्मेवारी दिएपछि तानसेन नगरपालिकाले सार्वजनिक नीजि साझेदारीमार्फत त्यस क्षेत्रको विकास गर्ने योजना अघि सारेको छ । नगरपालिकाले त्यस क्षेत्रमा पुराना सांस्कृति पहिचान झल्कने स्थलहरुको निर्माण गरी रानीमहल क्षेत्रमा पर्यटकको चहलपहल गराउने योजना अघि सारेको नगरपालिकाले जनाएको छ ।
विस १९९४ मा खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी नदी किनारमा रानीमहलको निर्माण गरेका थिए ।