Erani Mahal
रानीमहलमा 'हनिमुन हाेटल' बनाउने सरकारी प्रस्ताव
Ranimahal
काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल (हान) आफैं पनि यो प्रस्तावको पक्षमा छैन । पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरवार हो । यसको निर्माण विसं १९५४ सालमा भएको थियो। यो महल जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा यो दरवार बनाउन लगाएका थिए । सोहीकारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ । रानीमहलमा आकर्षक चार तले भवन रहेको छ । महलमा २४ वटा कोठा, २ वटा पोखरी, मन्दिर बगैँचा र पाटी, घोडातबेला सहिताका संरचनाहरू छन् । पर्यटन बोर्ड भने एतिहासिक संरचनालाई होटलमा परिणत गर्न अग्रसर छ । ‘हामी पर्यटनमा विविधीकरण खोज्छौं,’ बोर्डका प्रमुख कायर्कारी अधिकृत सीईओ डा. धनन्जय रेग्मीले भन्नुभयाे, ‘त्यसका लागि फरक खालका उत्पादनमा लाग्नुपर्छ, त्यसमध्ये एउटा उत्पादन हो रानीमहल ।’ रानीमहललाई ‘हनिमुन गन्तब्य’ बनाउन सकिने बोर्डको अवधारणा छ । ‘रानीमहल प्रेमसँग जोडिएको गन्तब्य हो, उनी भन्छन्, ‘हामी यसलाई नवजोडीसँग किन नजोड्ने ?’ रानीमहललाई हेरिटेज होटेलका रुपमा विकास गरी भारतमा प्रचार गर्ने हो भने खर्चालु पर्यटक भित्राउन सकिने बोर्डको अवधारणा छ । बोर्डले आफ्नो अवधारणासहितको प्रस्ताव स्थानीय सरकारदेखि व्यवसायीसम्म प्रस्तुत गरिसकेको छ । ऐतिहासिक सम्पदामा व्यापारीकरणको प्रश्न पुराना दरवारलाई होटेलमा परिणत गर्ने काम २००७ सालबाटै शुरु भएको हो । पूर्वअर्थमन्त्री मधुकरशमशेर राणाका बुबा महेश्वर शमशेरले २००७ सालमा खोेलेका नेपाल होटेल दरबारमै खुलेको थियो । त्यसपछि शंकर होटेलसहितका थुप्रै दरबारमा होटेल खुलेका उदाहरण छन् । चन्द्र समशेरको लाल दरबारमा अहिले याक एन्ड यति होटल सञ्चालनमा छ । तर, ती सबै दरबार राणाकालीन व्यक्तिगत सम्पत्ति थिए । रानीमहल भने ऐतिहासिक सार्वजनिक सम्पत्ति हो । यस्तो संरचनालाई बचाएर आसपासमा व्यापारिक प्रयोजनका संरचना बनाएर पर्यटक आकषिर्त गर्न सकिने होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘दरबारमा होटेल बनेका छन्, तर व्यक्तिगत सम्पत्तिमा’, उनले भने ‘यो त सार्वजनिक सम्पत्ति हो, भारतको ताजमहलको अवधारणामा बनेको रानीमहल आफैंमा होटेल बनाउन मिल्दैन ।’ रानीमहल पश्चिम नेपालको इतिहास भएको भन्दै उनले पर्यटकलाई रानीमहलसम्म पुग्ने वातावरण बनाउन आसपासमा ठूला होटेल र पर्यटकीय संरचना बनाउन सकिने सुझाव दिनुभयाे । ‘ताजमहललाई होटेल बनायो भने कति पर्यटक जालान ? तर भारतले त्यसो गर्दैन, उनी भन्छन्, ‘सम्पदाभित्र होटेल बनाउने होइन, ‘सम्पदा देखाएर आसपासमा होटेल चल्ने वातावरण बनाउनु पर्‍यो ।’ के छ प्रस्ताव ? रानीमहल अहिले अपनत्व लिने निकायको अभावमा जीर्ण बन्दै गएको छ । एकातर्फ नदीको कटानबाट बचाउने गरी संरचना बनाउन सकिएको छैन । अर्कोतर्फ दरवारका संरचनाहरुसमेत जीर्ण बनेका छन् । यसअवस्थामा रानीमहलको बाहिरी र भित्री ऐतिहासिक स्वरुपलाई नबिगारी मर्मत गर्न सकिने बोर्डको प्रस्ताव छ । याे समाचार अनलाइनखबरबाट लिइएकाे छ ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update