Erani Mahal
नेकपा पाल्पाकाे कार्यकर्ता प्रशिक्षण तानसेनमा सम्पन्न
nekapa11
पाल्पा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले केपी ओली समूह बोट विरुवालाई खाने झारको शंज्ञा दिनुभएको छ । उहाँले जसरी बोटविरुवालाई झारले घेरेर हुर्कन रोक्ने गर्दछ, त्यस्तै गरेर कम्युनिष्ट पार्टीको विकासमा ओली झार बनेर पार्टीको विकासमा अबरोधक भएको उहाँले टिप्पणी गर्नुभयो । नेकपा, पाल्पाले शनबिार तानसेनमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले केपी ओली समूहहरू सच्चा कम्युनिष्ट पार्टीको विरुद्धमा लागेकाले तिनीहरुको पतन निश्चित रहेको बताउनुभयो । ओली समूहका सच्चा कार्यकर्ताहरूलाई अलमलमा नपरी मूल पार्टीमा फर्किन सबै कार्यकर्तालाई उहाँले आव्हान गर्नुभयो । पार्टीको आधिकारिकता र चुनाव चिन्हको बारेमा नियम र कानून अनुसार चल्ने हो भने आफूहरूले नै पाउने तर कव्जा गर्ने हो भने त जे पनि हुन सक्ने बताउनुभयो । उहाँले आफू कम्यूनिष्ट हुँदा चुनाव चिन्ह सूर्य नरहेको बताउँदै चिन्हको कुरा भन्दा पनि पद्धति र सिस्टम रहने कि नरहने भन्ने प्रमुख रहेको बताउनुभयो । उहाँले आफूहरू निर्वाचन विरोधी नभई असंवैधानिक कदमको मात्र विपक्षमा रहेको बताउँदै वैधानिक निर्वाचनमा भने आफ्नो सहभागिता रहने बताउनुभयो । नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना हुने विस्वास गर्नुभएको छ । संसद पुनस्र्थापना नभए मुलुक बहुआयामिक द्वन्द्वतर्फ जाने संकेत गर्नुहुँदै उहाँले सर्वोच्च अदालतले मुलुकको हितमा पैसला दिने विस्वास गर्नुभयो । नेता भुसालले सरकारले आगामी बैशाखमा चुनावको मिति घोषणा गरेपनि सो मितिमा चुनाव हुनेमा आशंका गर्नुभयो । “अब चुनाव हुने समय पनि घर्कीसकेको छ उहाँले भन्नुभयो बैशाखमा चुनाव पनि हुँदैन र संसद पुनस्र्थापना भएन भने मुलुक बहुआयामिक द्वन्द्वतर्फ जाने अवस्था छ ।” उहाँले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि पाँचै वर्ष चलाउन दिएपनि प्रधानमन्त्रीको अहमताले मुलुक द्वन्द्वतर्फ धकेलिएको बताउनुभयो । नेपाली काङ्ग्रेसले पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिएपनि प्रचण्डले त्यो स्वीकार नगरेर कम्युनिष्ट पार्टीको एकताका लागि ओलीलाई समर्थन गरेको बताउनुभयो । उहाँले ओली २०७७ मा २०१४ सालको केशरजङ्ग रायमाझी बन्न खोजेको समेत नेता भुसालले आरोप लगाउनुभयो । नेता भुसालले प्रधानमन्त्रीलाई एमसीसी पास गर्न नदिएको बाहेक अरु काम गर्न आफूहरूले नरोकेको दावी गर्नुभयो । “एमसीसीलाई देशको हित अनुकुल बनाउनुपर्छ भन्ने बाहेक पार्टीले अरु कुनै काममा बाधा अबरोध गरेको छैन उहाँले भन्नुभयो ।” यस्तै नेकपाकै लुम्विनी प्रदेशका अध्यक्ष ओनसरी घर्तीले आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नका लागि सडकमा आउनुपरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको आत्मकेन्द्रित प्रवृत्तिले अहिले अवस्था सिर्जना भएकाले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो धनीले गरिबले हेप्ने प्रवृत्ति भनेको ओली प्रवृत्ति हो, यसका बिरुद्धमा सबै एकजुट हुनुपर्छ । उहाँले महिला, आदिवासी जनजाति, दलित, उत्पीडित समुदायको हितका लागि कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । हाम्रो समस्या समाधान गर्न केबल कम्युनिष्ट पार्टी हुनुपर्छ उहाँले भन्नुभयो एउटा राम्रो पार्टी निर्माण भयो भने त्यसले मात्र सम्पूर्ण उत्पीडित जनताको मुक्ति हुन्छ । अर्का केन्द्रीय सदस्य तुलाराम घर्ती वसन्तले पार्टीभित्रको ओली बदमासी भएको थाहा हुँदाहुँदै पनि नसच्याएकोले मुलुक प्रतिगमनतर्फ धकेलिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि ओली जस्ता नेता नजन्माउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै अर्का केन्द्रीय सदस्य ठाकुर गहिरेले ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानको घाटी च्याप्ने काम गरेको बताउनुभयो । उहाँले आफूहरूले रगत बनाएर ल्याएको गणतन्त्र ओलीको कदमका कारण अप्ठेरोमा परेको उल्लेख गर्नुभयो । सभाको अध्यक्षता गर्नुभएका पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले संविधानको रक्षाका लागि बाध्यताबस् सडकमा आउनुपरेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले जनताले दिएको पाँच वर्षका लागि सरकार चलाउन दिएको जनादेश कुल्चिएको आरोप लगाउनुभयो । कार्यक्रम सचिवालय सदस्य कमलप्रसाद पाण्डेयको स्वागत र सचिव राजेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । भेला तथा प्रशिक्षणमा जिल्लाका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ताहरु आएका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update