X
330
Shares

लखन थापाको बिद्रोह र राणा शासनको अन्त्य

रानीमहल लेखक || २ फाल्गुन २०७७,आईतवार ०७:०६

लखन थापा मगरको जन्म बि.सं.१८९१ तदनुसार १८३४ मा गोरखा जिल्ला साविकको निर्वाचन क्षेत्र १ मा पर्ने बुङ्कोट गाबिस वडा नं.४ काहुलेमा भएको थियो । सानैदेखि निडर र स्वाभिमान लखन थापा आफ्ना नातेदार (पूर्खा) हरू बिदेशी सेनाको उच्च पदमा रहेतापनि स्वाभिमान, स्वतन्त्रता र राष्ट्रियतालाई जिबन्त राख्न बिर बलभद्र कुवर, बडाकाजी अंमर सिंह थापा, सरदार भक्ति थापा, उजिर सिंह थापा लगायत थुप्रै बिर बिराङ्गानाहरूले नेपाल-अंग्रेज युद्धमा सिमित सैन्य, स्रोत र साधनका भरमा नेपाललाई सत्रुबाट बचाएका थिए । उनिहरूले मातृभूमिको लागि प्रदर्शन गरेको अदम्य शाहस र पराक्रम देखेर उनि ज्यादै प्रभाबित भएका थिए । थापाले देशको निम्ति उत्सर्ग गर्ने तिनै योद्धाहरूबाट प्रेरित भई देश र जनताको लागि आफूले पनि केही गर्नुपर्छ भन्ने भाब सानैदेखी मनमा लिएका थिए । तसर्थ उनि बि.सं. १९११ मा १४ वर्षको कलिलै उमेरमा आफ्नै पूख्यौली पल्टन (पुरानो गोरख गण) मगर पल्टनमा भर्ना भए ।

त्यतिखेर उनि लक्ष्मण सिंह थापा मगर नामबाट भर्ना भएका थिए । बि.सं. १९१४ को भारतिय सिपाही बिद्रोह (अंग्रेज शासन बिरूद्धको बिद्रोह) लाई रोक्नको लागि जंग बहादुरको निर्देशनमा उनि लखनऊ पुगेका थिए । त्यहाँ उनले अंग्रेजको भारतिय जनताप्रति ज्यादती, दमन र नेपालमा जंग बहादुरको अत्याचार तुलना गरे । त्यसमा केही भिन्नता देखेनन् । हठ्ठी स्वभाबका उनि बिभिन्न संघर्ष गर्दै बि.सं. १९२६ सालमा २० वर्षको उमेरमा सिपाहीबाट क्याप्टेन जस्तो गरिमामय पद सम्हाल्न पुगेका थिए । अनि बि.सं.१९२७ सालमा उनि आफ्ना साथी जय सिंह चुमीका साथ घर बिदामा गए । बिदा सकिएपनि उनिहरू जागिरमा फर्किएनन् । किनकि राणाहरूको तानाशाही तथा अत्याचारीका बिरूद्ध लड्न सेनामा संभब थिएन, त्यसको लागि पनि उनि फर्किएनन् । त्यसपछि थापा देशबासीलाई मुक्ति दिलाउने लक्ष्यका साथ गोर्खामा राजनैतिक एवं सैनिक संगठन गर्न थाले ।

लखन थापा मगरले जंग बहादुरको एकतन्त्रिय एवं पारिवारिक शासन प्रणालीको बिरूद्ध आन्दोलन गर्नुभन्दा अगाडि जनतालाई मानसिक रूपमा तयार गर्न थाले । जनयुद्धको लक्ष्य र उद्देश्यहरू स्पष्ट रूपमा जनता समक्ष यसप्रकार राखेका थिएः “जंग बहादुरले नेपाल म्हेच्छ (अंग्रेज) लाई बेच्यो, दुनिया त्राही-त्राही पारिरहेको छ । छुवाछुत झन चर्किरहेको छ । जंगेलाई हटाई नेपाललाई पापको बोझबाट हल्का पार्नुपर्छ । नेपालमा सत्य युग फिराऊ, मनकामना देबी माताले मलाई बरदान दिएकी छन् । भाई हो तयार होऔ।” उपरोक्त उद्देश्य अनुसार जंङ्गेको बिरूद्ध गरिएको शसस्त्र बिद्रोहको राजनैतिक एवं सैद्धान्तिक आधार थिए । यसैगरी जङ्ग बहादुरको अधिकनायकबादी शासन प्रणालीको बिरूद्ध बिद्रोह तथा बिरोधको ज्वाला नेपाली समाजमा एकसाथ दन्किरहेको थियो । यो बिद्रोह नेपालको इतिहासमा पहिलो जनबिद्रोह एवं जनयुद्ध थियो ।

शहिद लखनथापा ।

जनताको स्वत स्फूर्त सहयोग तथा सक्रियतामा गुरूङ्ग, मगर, ब्राह्मण, क्षेत्री तथा अन्य जातिका समेत गरि २ हजार युवाहरूको संगठन गर्न उनि सफल भए । नेपालको इतिहासमा यो पहिलो जनमिलेसिया संगठन थियो । बिद्रोहीहरूले बुङ्कोटमा आफ्नै किल्ला निर्माण गरेका थिए, सो पाँचतले थियो । ८ क्युबिक चौडा र १६ क्युबिक अग्लो पर्खालले घेरिएको किल्ला थियो । नेपालको इतिहासमा बिद्रोहीहरूको यो पहिलो किल्ला थियो । त्यस्तै जोशमनी धार्मिक सम्प्रदायलाई राजनैतिक दलको रूपमा प्रयोग गरेर जनतालाई जनसंघर्ष गर्न उत्प्रेरित गरेका थिए । बि.सं. १९२७ सालमा जङ्ग बहादुरको एकलौटी राज्यको बिरूद्ध लखन थापा मगरले समानान्तर सरकारको स्थापना गरेका थिए ।

यो सरकारमा बिभिन्न जाति तथा जनजातिका प्रतिनिधिहरू मन्त्री बनाएका थिए । जसमा ज्ञान दिलदास ब्राह्मण र कालु लम्साल समेत मन्त्री बनेका थिए । जनताको आग्रह र अनुरोधमा लखन थापा यसको मुख्तियार (प्रधानमन्त्री) आफै बनेका थिए । नेपालको इतिहासमा यो पहिलो समाबेशी तथा समानान्तर सरकारको मन्त्रीपरिषद् गठन भएको थियो । लखन थापाको बिद्रोहलाई जय सिंह चुमी (राना), शुकदेब गुरूङ्ग, सुपति गुरूङ्ग, ज्ञान दिलदास ब्राह्मण, अच्छामी मगर र कालु लम्सालले बिशेष सहयोगीका रूपमा साथ दिएका थिए । त्यतिखेर जङ्ग बहादुरको बिरोधमा जनबिद्रोहको तयारी भएको कुरा सर्बजित थापा (क्षेत्री) ले काठमाडौमा उजुरी गरे ।

राज्यभित्र अर्को राज्यको स्थापनाको कुरा सुनेर फलस्वरूप जङ्ग बहादुर निकै क्रुद्ध र बिचलित भई तुरून्तै आफ्ना भाई सेनाका सेनापति धीर शमसेरलाई सो बिद्रोहको दमन गर्न आदेश दिए । सोही मुताबिक धिर शमसेरले नेतृत्व गरेको देबीदत्त पल्टनको सेनाले लखन थापाको दरबारलाई चारैतिरबाट धेरा हाल्यो, भिषण युद्ध शुरू भयो र दुबैतिर धेरैको हताहत भयो । बिद्रोही सेनासँग युद्ध लड्न हम्मे-हम्मे परेको थियो । बिद्रोही जनसेनासँग गोली, बारूद सकियो र युद्ध रोकियो । थापा मगर सजिलैसँग तिब्बतमा राजनैतिक शरण लिन सक्थे तर प्रजातन्त्र र स्वतन्त्रताको सेनानीहरूले हासी-हासी देश र जनताको खातिर मृन्युबरण गर्न उचित सम्झे । नेपाली इतिहासमा यो पहिलो पटक मुलुकभित्रको बिद्रोह दमन गर्न सेनापतिलाई आफै कमाण्ड सम्हाल्न पुग्नु परेको थियो । त्यसपछि सो पल्टनले लखन थापा, जय सिंह चुमी, कालु लम्साल लगायत अन्य सहयोगीलाई पक्राउ गरि काठमाडौ लगियो र जङ्ग बहादुर समक्ष पेश गरियो । सक्रिय रूपमा जनबिद्रोहमा संलग्न भएको प्रमाण फेला पारेपछि मृत्युदण्ड दिने घोषणा गरे । बि.सं. १९३३ साल फागुन २ गतेका दिन लखन थापालाई मनकामना मन्दिरको अगाडि खिर्राको बोटमा र जय सिंह चुमीलाई बेलौटीको बोटमा झुण्डाएर मारियो ।

कालु लम्साल र ज्ञान दिलदासलाई भने ब्राह्मण भएको कारणले चारपाटा मोडेर छोडियो, मृत्युदण्ड दिइएन । फासिमा झुण्डिनु अगाडि थापाले उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै भनेका थिएः “म मर्न गइरहेको छैन, यदि म मुर्दा अबस्थामा परिणत भए भने जङ्ग बहादुरको पनि केही दिनमा अन्त्य प्राणान्त हुनेछ ।” नभन्दै संयोगबंश लखन थापाको हत्या भएको २-३ हप्ताभित्र राणाको पनि १९३३ फागुन १६ गतेका दिन मृत्यु भएको थियो । उनिको मृत्युबारे खुल्याइएको छैन ।

लेखक रामबहादुर गरंजा एसकुमार

लखन थापाको बिद्रोहलाई इतिहासकार बालचन्द्र शर्माले आफ्नो पुस्तकमा लखन थापाको उत्पात भनेर खिल्ली उडाएका छन् । त्यस्तै राजकिय प्रज्ञाप्रतिष्ठानबाट २०४० सालमा प्रकाशित नेपाली बृहद शब्दकोषमा लखन थापालाई ‘महत्व नभएका ठट्यौला कुरा गर्ने ब्यक्ति’ भनेर उल्लेख गरिएको भेटिन्छ । त्यस्तै इतिहासकार डा. बि.पि.सिंहले पनि २०६७ साल फागुन ७ गते लखन थापाको यसरी टिप्पणी गरेका छन्:- सैनिक जागिरबाट गयल परि हाजिर नभई जङ्ग बहादुरको बिरूद्ध अभियान चाल्ने मान्छे । त कसैले आफू राजा हुनको लागि सो प्रयास गरेका थिए भनेर पनि भनेका छन् । तर लखन थापा कुनै जात, धर्म, बर्ण, लिङ्ग वा समुदायका निम्ति बलिदानी गरेका थिएनन् । सिङ्गो नेपाल र नेपालीको लागी आफ्नो प्राणको आहुति दिएका थिए । नेपालको इतिहासमा यो पहिलो बलिदान र शहादत प्राप्त गरेको घटना थियो । तर नेपालको इतिहासमा केबल तागाधारी शासकहरूको बनावटी कथा, प्रशस्तीगान, गुणगान तथा प्रशंसाहरू मात्र लेखेको पाइन्छ । शायद त्यही भएर होला पृथ्वीनारायण शाहले स्वीकारेका थिए:- “इतिहास जित्नेहरूको लेखिन्छ भनेर।” यिनै कारणले लखन थापा पछाडी परे र सुनियोजित ढङ्गले पारियो । थापाको मृत्युपछि नेपाल मगर संघको पूर्ब अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको अध्यक्षतामा २०४८ सालको चौथो महाधिवेशनले सर्ब सम्मतिबाट थापा मगरलाई नेपालको प्रथम शहिद घोषणा गर्न सरकारसँग माग गर्ने प्रस्ताव करतल ध्वनिका साथ पारित गर्‍यो । नेपालमा प्रजातन्त्र प्राप्तिको दिशामा पहिलो आन्दोलनको शुरूवात गर्ने क्या.लखन थापाको अतुलनिय बलिदानलाई कदर गर्न राज्य र राज्यको जिम्मा लिएका ठेकेदार हिचकिच्याईरह्यो ।

कतिपय मगर एवं गैह्र मगर, बुद्धिजिबी, इतिहासकार, लेखक, प्राज्ञिक, समाजसेबी, अनुसन्धानकर्ता, बिभिन्न राजनैतिक दलका नेता, सञ्चार संस्था तथा अन्य संघ-संस्थाहरूले राज्यमाथि दबाव दिदै आइरहेका थिए । सबैले एकै स्वरमा लखन थापा मगरलाई नेपालको प्रथम शहिद घोषणा गर्न सरकारसँग निरन्तर माग गर्दै आइरहेका थिए । राजनैतिक स्तरमा २०४६ सालको आन्दोलन पश्चात काठमाण्डौको मगर महिलाको सभालाई कम्युनिष्ट नेतृ सहाना प्रधानले थापालाई प्रथम शहिद घोषणा गर्न माग गरेकी थिइन् । तत् पश्चात २०५६ साल फागुन ११ गते कृष्ण प्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्का सूचना सञ्चार मन्त्री चिरञ्जिबी वाग्लेको प्रयासमा राज्यले शहिद मात्र घोषणा गर्‍यो ।

त्यस्तैगरि सुरेश आले मगर, एम एस थापा, एम बहादुर बुढाथोकी, राम बहादुर थापा, त्रिलोक सिंह थापाले पनि सरकार समक्ष निरन्तर माग गर्दै आवाज उठाइरहे ।सांसद शिबलाल थापाको विशेष पहल, मा. भूमिसुधार तथा संस्कृतिमन्त्री कृपासुर सेर्पाको पहलमा मन्त्रीपरिषदमा प्रस्ताव पेश भयो । फलस्वरूपः शुसिल कोइरालाको अध्यक्षतामा बसेको बैठकले २०७२ साल असोज ३ गतेका दिन १३९ बर्षपछि बिधिवत रुपमा थापालाई प्रथम शहिद घोषणा गर्‍यो। त्यसको लागि नेपाल सरकारलाई विशेष धन्यवाद दिदै कार्यान्वयनका लागि पनि अनुरोध गर्दछु ।

(स्रोतः रूल बहादुर आले, प्रजातान्त्रिक आन्दोलनका योद्धा लखन थापा र त्रिलोक सिंह थापा मगर, प्रथम शहिद लखन)

लेखक : नेपाल आदिवासी जनजाति महासंघ, पाल्पाका पूर्व संयोजक समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५