Erani Mahal
संसद विघटन विरुद्ध पाल्पा काँग्रेसकोे फागुन ३ मा प्रदर्शन
IMG_4314
पाल्पा- संसदविघटन विरुद्ध पाल्पा काँग्रेसकोे फागुन ३ मा प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कमिटि पाल्पाको आयोजनामा शुक्रबार बसेको उपलब्ध पदाधिकारी, जिल्ला कमिटिका सदस्य तथा महासमिति, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुको बैठकले प्रदर्शनलाई बृहद गराउने निणर्य गरेको छ । पार्टी सभापति बीरबहादुर रानाले फागुन ३ को प्रदर्शन व्यापक बनाउन सबैको सहयोग जरुरी रहेको बताउनुभयो । प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध विरोध प्रदर्शन व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभयो । ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा क्षेत्रीय कमिटि, प्रदेशसभा, स्थानीय तह, वडा कमिटिबाट व्यापक सहभागीता हुने उनले बताउनुभयो । फागुन ३ गते टुँडिखेल लखन थापा पार्क नजिकै ११ बजे भेला भएर तानसेन बजार क्षेत्रमा गरिने प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन सभापति रानाले आग्रह गर्नुभयो । तानसेन बिशाल बजारमा हुने कोणसभा र विगतका प्रदर्शन भन्दा अहिलेको फरक ढंगले हुने भएकाले सबैको सहभागिताका लागि उनले आग्रह गर्नुभयो । बैठकमा उपसभापति देवराज ढकाल, सचिव अजयमान कर्माचार्य, महासमिति सदस्य यमलाल तिमिल्सेना, क्षेत्रीय सभापति रामबहादुर कार्की, महिला संघकी अध्यक्ष गंगा पौडेल, तरुण दलका सभापति मेजरसिंह केसी, नेविसंघका सभापति सुरेश बोहोरा लगायतले प्रदर्शनलाई व्यापक बनाउन सक्दो सहयोग गर्न सबैमा अपिल गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला नेताहरु माधव नेपाल, पुरुषोत्तम अर्याल, महेन्द्र पाण्डेय, रामचन्द्र पाण्डेय, सुनिता अधिकारी, दलबहादुर राजपुत, नगर सभापति मधुदयाल सैंजु, महिला संघकी मीना पन्थी, राष्ट्रिय मगर संघका अध्यक्ष झमन राजमगर, लक्ष्मण बस्याल, भुतपुर्व सैनिक संघका विष्णु बहादुर गाहा लगायतले विरोध प्रदर्शनका लागि तानसेन क्षेत्रबाट धेरैभन्दा धेरै सहभागी गराउन आग्रह गर्नुभयो । बैठक पार्टी सभापति बीरबहादुर रानाको अध्यक्षता र सचिव अजयमान कर्माचार्यको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update