Erani Mahal
पाल्पामा दुधको मूल्य वृद्धि : किसान र उपभोक्ता मारमा !
milk-glass
पाल्पा-पाल्पामा दुधको मूल्यमा भारी वृद्धि गरिएको छ । पछिल्लो समयमा किसानको मागलाई भनेर जिल्लाका डेरीवालाले मूल्य बढाएको भएता पनि त्यो मूल्य वास्तविक किसानले नपाई विचौलियालाई फाइदा हुने देखिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ पाल्पा र नेपाल डेरी एसोसिएसन पाल्पाको व्यानरमा आवद्ध संघ संस्थाको भेलाले २०७७ फागुन १ गतेदेखि लागुहुने गरेर दुधको मूल्य बढाएको सूचना टाँस गरिएको छ । जसमा सबैभन्दा धेरै भैंसीको मूल्यमा १५/१६ रुपैंया बढाइएको छ । भैंसीको मूल्य यस अघि पसल हेरीकन ८० देखि ८६ रुपैंया सम्म प्रतिलिटर रहेको थियो । अहिले यसलाई बढाएर १ सय रुपैंया पुर्याएको छ । जिल्लाको तानसेनको चिनारी दुग्ध उत्पादक सहकारीले भने यस अघि नै एकलौटी रुपमा भैंसीको दुधलाई १ सय रुपैंया प्रतिलिटरमा बेचेको थियो । उसले आफ्नो संस्थामा अन्यडेरीमा भन्दा राम्रो दुध रहेको भन्दै एक सय रुपैंयामा बेचेको थियो । किसानहरुले भने एक सय रुपैंयामा दुधको मूल्य पुर्याएको भएता पनि आफूहरुले भने ५० देखि ६० रुपैंयाको हाराहारीमा मात्र पाएको गुनासो गरेका छन् । केही टाठावाठा किसानले ८० रुपैंया नि पाएका होलान, एक किसानले नाम नबताउने सर्तमा भने तर सबैले पाएको अवस्था छैन, त्यसले किसान र उपभोक्ता मारमा पर्ने र विचौलियाहरु मोटाउने काम मात्र भएको छ । तानसेनका एक खुद्रा व्यवसायीले भने वास्तविक रुपमा अहिलेको मूल्य वृद्धिले किसान नै बढी मारमा परेको बताउछन्, उहाँले आफ्नो पसलको नाम नलेख्न भन्दै रानीमहलसँग भन्नुभयो अहिले हावातालमा मूल्य बढाएर किसान र उपभोक्तालाई लुट्ने काम डेरीहरुले गरेका छन्, उहाँका अनुसार तानसेनका ३।४ वटा डेरी मिलेर किसानलाई र उपभोक्तालाई सिन्डिकेट लगाउन पाइदैंन । जिल्ला डेरी एसोसिएसन पाल्पाका अध्यक्ष टिकाराम खराल भने बढेको मूल्य किसानको लागि बढाइएको तर्क गर्नुहुन्छ । उहाँले किसानले पानीहालेर ल्याएको दुधलाई ८० रुपैंया दिन नसकिने भएकाले खाटी दुध र गुणस्तर हेरी किसानले मूल्य पाएको बताउनुभयो । शनिवारदेखि बढेको दुधको मूल्यप्रति असन्तुष्टि जनाउँदै उपभोक्ता श्रीकृष्ण भट्टराईले सामाजिक संजाल फेशवुकमा लेख्नुभएको छ ः दूध सेतो भए भैंसीको हुने गुणस्तर जस्तो भए पनि हुने गुणस्तर भएको गाइको दूध लाई दूध नै नभन्ने पाल्पाली उपभोक्ता लाई उपहार ! अब दूध को मुल्य बढ्यो भनेर बजारमा हाहाकार हुन्छ तर गाईको दूधको मुल्य बढेको छैन गाइको दूध उपभोग गरौं तर गुणस्तरको मापन को लागि अनुगमन गरौ भन्ने कोही हँुदैन । वाह रे शिक्षित समाज । पाल्पामा दुधको गुणस्तरको विषयमा बेला बेलामा कुराउठ्ने गरेता पनि अनुगमन गर्ने निकाय फितलो भएका कारण उपभोक्ताहरु मारमा पर्ने गरेका छन्, अनुगमनका नाममा मात्रै हुने अनुगमनले प्रभावकारी रुपमा दोषीलाई कारवाही गर्न नसक्दा उपभोक्ताहरु थप मारमा पर्ने गरेका छन् त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ ।
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update