Erani Mahal
मदन भण्डारी राजमार्ग : पाल्पा क्षेत्रकाे डिपीआर अझै तयार हुन सकेन !
palpa2
पाल्पा – मदन भण्डारी राजमार्ग अन्तर्गत लुम्विनी प्रदेशको पाल्पा क्षेत्रमा अहिलेसम्म काम हुन सकेको छैन । यो वर्षदेखि गुल्मी क्षेत्रमा उक्त राजमार्गको काम हुने बताइएपनि पाल्पा क्षेत्रमा भने अहिलेसम्म कहाँबाट राजमार्ग बनाउने भन्ने टुंगाे लाग्न सकेकाे छैन । लुम्विनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाकाे सडक कहाँ बनाउने भन्ने टुंगो लागेपनि पाल्पा र अर्घाखाँचीतर्फको भने कुन क्षेत्रमा सडक बनाउने भन्ने निर्क्याैल हुन सकेको छैन । मदन भण्डारी राजमार्ग आयोजना गुल्मीका प्रमुख शशांक मिश्रले पाल्पा क्षेत्रका मदनभण्डारी राजमार्ग तय नभएको बताउनुभयो । पाल्पा क्षेत्रमा अहिले पनि कहाँबाट सडक बनाउने भन्ने तय भएको छैन, उहाँले भन्नुभयो डिपिआर पनि तयार भएको छैन । गुल्मीको तम्घास–सिमलटारी सडकखण्डलाई यो आवदेखि नाम परिवर्तन गरेर मदन भण्डारी राजमार्ग नामाकरण गरिएको मिश्रले बताउनुभयो । यो वर्ष गुल्मीको रिडीदेखि बल्कोट अर्घाखाँचीसम्म कालोपत्रे हुने उहाँले बताउनुभयो । सरकारले तीन वर्षअघिदेखि अघि सारेको यो आयोजनाको काम लुम्विनी क्षेत्रमा भने ढिलाई यस क्षेत्रका बासिन्दाको भनाई छ । मदनभण्डारी राजमार्ग पाल्पाको रामपुर हुँदै गुल्मी जाने भन्ने सुन्नमा आएपनि अहिलेसम्म यस क्षेत्रमा काम नभएको पाल्पाका स्थानीय बासिन्दाको भनाई छ । तीन वर्षअघि सरकारले गौरवको आयोजना अन्तर्गत अघि सारेको आयोजनाको काम तीव्र गतिमा हुनुपर्ने यस क्षेत्रका बासिन्दाको भनाई छ । पाल्पातर्फको कालीगण्डकी कोरिडोरलाई नै मदनभण्डारी राजमार्ग नामाकरण गर्ने भन्ने चर्चा समेत भएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update