Erani Mahal
होलाङ्दी-तानसेन सडक राजमार्ग कि शहरी सडक विवाद : प्रशासनले रोक्यो कर उठाउन !
143462420_159059689132056_8470471942284111278_n
पाल्पा- तानसेनको बर्तुङ्ग- होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुंगाखानी सडक अहिले राष्ट्रिय सडक कि शहरी सडक भन्ने विवाद उत्पन्न भएको छ । नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार शहरी सडक भनेपछि नगरपालिकाले कर उठाएको थियो तर पछि नेपाल सरकारको निणर्य भन्दै सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारमा पर्ने बताएपछि अहिले यो सडककको क्षेत्राधिकार विवाद बढ्दै गइरहेको छ । शहरी सडकमा स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै तानसेन नगरपालिकाले होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुंगाखानी सडकमा चल्ने सवारी साधनमा कर उठाएको थियो । तर सडक डिभिजन कार्यालयले भने आफ्नो क्षेत्राधिकार भित्र पर्ने भन्दै नगरपालिका र प्रशासनमा पत्राचार गरेपछि बुधवारदेखि कर संकलन रोकिएको छ । तानसेन नगरपालिकाको कार्यवहाक नगरप्रमुख लक्ष्मी पाठकको अध्यक्षतामा मंगलवार बसेको बैठकले तत्कालका लागि कर नउठाउने निणर्य गरेको हो । २०६९ साल भदौ १८ गते प्रकाशित राजपत्रमा नेपाल सरकारले सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ ले दिएको अधिकारको प्रयोग गरी वर्तुङ्ग, तानसेन, रिडी तम्घास सडकको होलाङ्दी मोडदेखि बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्मको बाटोलाई शहरी मार्ग कायम गरेकोले सोही अनुसारको पूर्वाधार कर लिएको तानसेन नगरपालिकाले जनाएको छ । सोही राजपत्रमा वर्तुङ्ग, तानसेन, रिडी तम्घास सडकको होलाङ्दी मोडदेखि धरमपानी हुँदै ढुंगाखानी सम्मको सडकलाई सहायक मार्ग कायम गरेको थियो । तर २०७६।०२।०६ को नेपाल सरकारको निणर्य अनुसार राष्ट्रिय राजमार्ग NH49 वर्तुङ्ग, तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग सडकको होलाङ्दी मोडदेखि तानसेन बसपार्क सडक पर्ने भनिएपछि अहिले यो सडकको विवाद उत्पन्न भएको छ । सडक डिभिजन कार्यालयले २०७७।१०।०७ मा पत्र लेख्दै सो सडक राष्ट्रिय राजमार्ग NH49 वर्तुङ्ग, तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग सडकमा पर्ने जनाएको छ । सडक डिभिजनको प्राप्त पत्र अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिकालाई राष्ट्रिय राजमार्ग NH49 वर्तुङ्ग, तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग राष्ट्रिय राजमार्ग र होलाङ्दी मोड धरमपानी हुँदै ढुंगाखानी सम्म राष्ट्रिय राजमार्गको सहायक मार्ग भएकाले स्थानीय पूर्वाधार सडक उपभोग शुल्क नउठाउन निर्देशन दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय र सहायक मार्गको राइट अफ वे भित्रको स्थानीय पूर्वाधार सडक उपभोग कर उठाउन नमिल्ने व्यवस्था भएकाले कर असुलीमा रोकिएको बताउनुभयो । अब के हुन्छ ? यस विषयमा अब विवाद बढ्ने र अदालत सम्म जान सक्ने नगर प्रवक्ता दामोदर प्रसाद घिमिरेले बताउनुभयो । उहाँले राजपत्रमा शहरी सडक भनेर प्रकाशित भएकाले नगरपालिकाले सोही अनुसारको स्थानीय पूर्वाधार सडक उपभोग कर लिइएको बताउनुभयो । उहाँले यस सम्बन्धमा आफूहरुले कानूनी परामर्श लिइरहेको र अर्को व्यवस्था नहुदासम्मको लागि कर संकलन समेत बन्द गरिएको बताउनुभयो । राष्ट्रिय सडक र स्थानीय सडक भए के हुन्छ ? राष्ट्रिय राजमार्ग NH49 वर्तुङ्ग, तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग सडक खण्डमै पर्ने भएमा तानसेनका सडक मिचेर बनाएका भौतिक संरचनाहरु नेपाल सरकारको मापदण्ड अनुसार नै भत्काउनुपर्ने हुन्छ । यदि त्यस्तो निणर्य भएमा तानसेनको होलाङ्दी मोडदेखि बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्मका सडक आसपासका घरहरु भत्काउनुपर्ने र सडक चौडा पानुपर्ने हुन्छ । यस क्षेत्र होलाङ्दी मोडदेखि बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्म शहरी क्षेत्र भएमा तानसेन नगरपालिकाको निणर्य अनुसारको सडक विस्तार हुनेछ ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update