Erani Mahal
बगनासकाली गाउँपालिकास्तरीय पोषण कार्यक्रम समिक्षा सुरु
g
पाल्पा- बगनासकाली गाउँपालिकास्तरीय पोषण कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी बिहिबारदेखि गाउँपालिका सभाहलमा सञ्चालन भएको छ । गोष्ठीमा गाउँपालिका अन्तर्गत वडास्तरमा रहेका स्वास्थ्य चौकीले पोषण कार्यक्रम तथा अवस्था, समस्या र सुधारको पहलबारे प्रस्तुतीकरण गरेका छन् । प्रस्तुतीकरणमा गाउँपालिकामा अझै पनि २० प्रतिशत पोषणको स्तरमा सुधार गर्नुपर्ने देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार किशोरी, सुत्केरी महिला, बालबालिका, नवजात शिशुको पोषण सुधारका लागि नियमित खोप, पौष्टिक खाना, नियमित स्वास्थ्य चेकजाँच, सरसफाई सचेतना, तौल र उचाइ लगायतमा विशेष ध्यान दिनुपर्दछ । जन्मेदेखि दुई वर्षको बालबालिकालाई आमाको दूध र थप पौष्टिक खाना खुवाउनाले कुपोषण रोगबाट बचाउन सकिने सुआहारा फिल्ड संयोजक दिनेश घिमिरे प्रस्तुतीकरणमार्फत सहभागीलाई सुझाव दिनुभयो । बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र सुआहारा पाल्पाको सहकार्यमा चलेको गोष्ठी शुभारम्भमा बोल्दै गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले पोषणको सन्दर्भमा कार्यान्वयन गर्न सकिने योजना तयार गर्न आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले पोषण शिक्षा मात्र नभएर पोषण स्तर बढाउने गरी योजना तथा कार्यक्रम सञ्चालनमा ध्यान दिएको बताउनुभयो । शुक्रबारसम्म चल्ने गोष्ठीमा गाउँपालिकाका ९ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, फोकलपर्सन, गाउँपालिकाको विषयगत शाखा प्रमुख लगायतको सहभागिता रहेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनालको अध्यक्षता, स्वास्थ्य शाखा अहेव उमा भट्टराईको स्वागत र स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा गोष्ठी उद्घाटन सत्र चलेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update