Erani Mahal
कोरोनाले थलिएको सांगीतिक क्षेत्र चलायमान बन्दै
tanka-in-stage
पाल्पा - कोरोना भाइरसको महामारी शुरु भएसंगै ठप्प बनेको सांगीतिक क्षेत्र बिस्तारै चल्मलाउन थालेको छ । गीत रेकर्डिङ, म्युजिक भिडियो छायाँकन केही महिनादेखि भईरहेको थियो भने अब क्रमश स्टेज कार्यक्रमहरु पनि शुरु हुन लागेका छन् । जसले गायक–गायिका तथा स्टेज कलाकारहरुको दैनिकीलाई पुरानै लयमा फर्काउन खोजेको छ । लोकगायक प्रकाश सपूतले झण्डै १ वर्षपछि अंग्रेजी नयाँ वर्षको दिन स्टेजमा गीत गाउनुभयो । लोकगायिका मञ्जु पौडेल पनि झण्डै १ वर्षपछि नयाँ बर्षको अवसर पारेर नेपालगञ्जमा आयोजित कार्यक्रममा स्टेज चढनुभयो । प्रकाश र मञ्जु जस्तै केही गायक–गायिकाले करिब १ बर्षपछि स्टेजमा आफूलाई उभ्याए । पुस, माघ, फागुन । यो समय देशका अधिकांश जिल्लामा मेला–महोत्सव आयोजना हुन्थ्यो । चलेका गायक–गायिकाहरु त्यसमै ब्यस्त हुन्थे । यतिसम्मकी केही गायक–गायिकाहरुलाई यी महिनामा काठमाडौंमा भेट्न नै मुश्किल पथ्र्यो । कोरोना महामारीका कारण यसवर्ष विगतमा जस्तो मेला–महोत्सव भएनन् । जसकाकारण मेला महोत्सवको सिजनमा पनि अधिकांश गायक–गायिका फुर्सदिला बन्नुपर्यो । तर, अबभने फाट्टफुट्ट सांगीतिक कार्यक्रमहरु हुन थालेका छन् । ठूला–ठूला मेला तथा महोत्सव नभएपनि सुरक्षा मापदण्ड अपनाएर केही सांगीतिक कार्यक्रममा भने कलाकारलाई देख्न थालिएको छ । माघे संक्रान्तिको अवसरमा बिहीबार देशका धेरै स्थानमा सांगीतिक कार्यक्रम आयोजना भए । जसले केही गायक–गायिकालाई लामो समयपछि स्टेजमा फर्काएको छ । गायक टंक बुढाथोकी सांगीतिक कार्यक्रमको सिलसिलामा पाँचथरको फिदिम पुगेर प्रस्तुती दिनुभयो । ‘लकडाउनपछि पहिलोपटक स्टेज कार्यक्रममा गीत गाएँ’– टंकले भन्नुभयो । उहाँले अन्य स्थानबाट पनि कार्यक्रमको कुरा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘माघ १० गते झापामा कार्यक्रम तय भएको छ । अन्य धेरै स्थानबाट आयोजकहरुले सम्पर्क गरिरहनुभएको छ । बिस्तारै स्टेज कार्यक्रम लयमा फर्किएको छ ।’ गायिका मेलिना राई पनि लामो समयपछि स्टेजमा प्रस्तुती दिनुभएको छ । उहाँले टंकसँगै बिहीबार पाँचथरको फिदिममै प्रस्तुती दिनुभएको छ । लोकगायिका पूर्णकला बिसी सांगीतिक कार्यक्रमको सिलसिलमा बर्दिया पुग्नुभयो । माघे संक्रान्तिको अवसरमा आयोजिक सांगीतिक कार्यक्रममा पुगेकी पूर्णकलाले पनि एक वर्षपछि बल्ल स्टेज चढेको बताउनुभयो । गायक प्रकाश सपूत विस्तारै सांगीतिक कार्यक्रमहरु हुन थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘फाट्टफुट्ट सांगीतिक कार्यक्रमहरु हुन थालेका छन् । अहिले तत्काल सांगीतिक कार्यक्रमहरुमा ब्यस्तता नभएपनि धेरैले केही समय पछिका लागि समय मागिरहनुभएको छ ।’ गायक कुलेन्द्र बि.कले माघको ६ गते पोखरामा सांकृतिक कार्यक्रममा सहभागी हुन लागेको बताउनुभयो । ज्योति मगर, दुर्गेश थापा, कमल खत्री, सम्झना भण्डारी लगायतका कलाकारहरु पनि लामो समयपछि स्टेजमा प्रस्तुत हुनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update