Erani Mahal
विद्यार्थी सामुदायिक विद्यालयमा गएपछि तानसेनकाे एउटा बाेर्डिङ् स्कूल बन्द
palpa school
पाल्पा - पाल्पाकाे एक नीजि विद्यालयमा अन्ययनरत विद्यार्थीहरू सामुदायिक विद्यालयमा पढ्न गएपछि बाेर्डिङ् स्कूल बन्द भएकाे छ । तानसेन–१३ बौघागुम्हाकाे न्यू आइडल बोर्डिङ स्कुलमा अध्ययनरत करिब ६० जना विद्यार्थी नजिकैको सर्वोदय माध्यमिक विद्यालयमा भर्ना भएपछि न्यू आइडल बोर्डिङ स्कूल बन्द भएकाे हाे । विद्यार्थी सरकारीमा गएपछि चालु शैक्षिक सत्रदेखि बोर्डिङ स्कुल बन्द भएको प्रिन्सिपल दिनेश रानाले बताउनुभयाे । २०५३ सालमा स्थापना भएको उक्त बोर्डिङ स्कूलमा नर्सरीदेखि ५ कक्षासम्म पढाइ हुँदै आएको थियो । उक्त बाेर्डिङ् स्कूलमा ८ जना शिक्षकले पढाउँदै आएका थिए। विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गर्नु परेको रानाले बताउनुभयाे । स्कूल बन्द भएपछि शिक्षक पनि यत्रतत्र काममा लागेका छन् । एक जना शिक्षकले भने सर्वोदय माविमा नै अध्यापन गराउन गएका छन् । यसअघि विद्यालय संचालन भएकाे भवनमा अहिले कुखुरापालन व्यवसाय र होटल सञ्चालन हुँदै आएको छ। सर्वोदयबाट करिब २०० मिटरको दूरीमा न्यू आइडल बोर्डिङ स्कुल थियो । यस बोर्डिङ स्कुलमा गुणस्तरीय पढाइ नभएपछि सबै विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका स्थानीय अभिभावक प्रेमनाथ घिमिरेले बताउनुभयाे । ‘अचेल फेसनका लागि बोर्डिङमा पढाउने चलन बढेको छ’,उहाँले भन्नुभयाे, ‘बालबालिकाको पढाइ बोर्डिङभन्दा निजीमा राम्रो हुन्छ।’ उहाँले नातिनीलाइ पनि सामुदायिक विद्यालयमै भर्ना गरेकाे बताउनुभयाे । घरदैलो अभियान सञ्चालन गरेर सर्वोदय माध्यमिक विद्यालयमा विद्यार्थी ल्याउन सफल भएको व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रानाले बताउनुभयाे । विद्यालय नै मर्ज गरेर बोर्डिङ स्कुलमा कार्यरत शिक्षकलाई समेत ल्याउने प्रयास भएपनि असफल भएको थियो।
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update