Erani Mahal
कोरोनाले लाेक संगीतमा असर,लगानी उठाउन समस्या स्टेज कार्यक्रम शुन्य
lok-geet
काठमान्डाै । कोरोना महामारीले विश्वलाई नै प्रभावित बनायो । यसैले, मनोरञ्जन क्षेत्र यसबाट प्रभावित नहुने त कुरै भएन । अझ, स्टेज कार्यक्रमबाटै राम्रो आम्दानी गर्दै आएकादेखि स्टेज कार्यक्रमकै लागि गीतसंगीत बजारमा सार्वजनिक गर्ने श्रष्टाहरुलाई कोरोनाले नराम्रोसँग थला पारिदिएको छ । नेपाली लोकसंगीत क्षेत्र स्टेज कार्यक्रममा बढी भर पर्ने गर्दथ्यो । स्वेदश वा विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रममा पुगेर लाखौ आम्दानी गर्दै आएका श्रष्टादेखि यो क्षेत्रमा करिअर बनाउने सुरका साथ अगाडि बढ्दै गरेका कलाकारहरु सबैमा अन्यौलता छ । विस्तारै शहर बजारमा चहलपहल बढेतापनि स्टेज कार्यक्रम कहिलेबाट सुरु हुन्छ पत्तो छैन । यसलेगर्दा, विगत ९ महिनादेखि लोकदोहोरी क्षेत्रमा सक्रिय कलाकारहरुले वैकल्पिक पेशा पनि अंगालेका छन् । कतिपयले भने निरन्तरताका लागि मात्र गीतसंगीत सार्वजनिक गर्दै आएको पाइन्छ । अहिले आम्दानीको मुख्य श्रोत नै युटुब हो । तर, स्तरिय गीतसंगीतको अभाव हुँदा युटुबमा पनि भ्यूज कम देखिन्छ । यसले, अधिकांश लोकदोहोरी गीतले लगानी उठाउन सकेका छैनन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश वीजीका अनुसार, धेरै कलाकारले वैकल्पिक पेशा सुरु गरिसकेका छन् । वीजीले अनलाइनखबरसँग भने–‘कोहीले रेष्टुरेण्ट व्यवसाय संचालन गरेका छन् भने कसैले कपडा पसल संचालन गरिरहेका छने । स्टेज कार्यक्रम सुरु भएपछि त कार्यक्रमतिर नै कलाकारको व्यस्तता बढ्ला । तर, अहिले धेरैले बैकल्पिक बाटो रोजेका छन् ।’ गायिका पूर्णकला वीसीले बुटिक व्यवसाय संचालन गरेकी छिन् । वीसीले सांगीतिक क्षेत्र धरासायी भएको अवस्थामा व्यवसायले राहत दिएको बताइन् । यस्तै, अर्की गायिका राधिका हमाल रेकर्डिङ स्टुडियोका कारण आफूलाई केही सहज भएको बताउँछिन् । उनले लामो समयदेखि अनामनगरमा स्टुडियो संचालन गर्दै आएकी छिन् । गायिका देवी घर्ती र गायक राजु ढकालले रेष्टुरेन्ट व्यवसाय संचालन गरेका छन् । स्टेज कार्यक्रम ठप्प रहेको समयमा व्यवसायले राहत दिएको प्रतिक्रिया गायक ढकालको छ । भिडियो निर्माणमा ६० प्रतिशतले कमी केही गायक–गायिकाहरुले सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिती जनाउनका लागि लगानीकर्ता खोजेर गीत सार्वजनिक गरिरहेका छन् । विगतका वर्षको तुलनामा यसवर्ष लोकदोहोरी गीतको निर्माणमा ६० प्रतिशत कमी आएको निर्देशक शिव विक बताउँछन् । उनले भने–‘धेरै गायक–गायिकाहरुले निरन्तरताका लागि भिडियो निर्माण गरेका छन् । केही विदेशमा बस्नेहरुले युट्युबमा सामाग्री बढाउनका लागि भिडियोमा लगानी गरेको पाइन्छ । गतबर्षको तुलानामा यो बर्ष लोकदोहोरी भिडियोको निर्माणमा धेरै नै कमी देखिन्छ ।’ पछिल्लो केही समयदेखि माहोल केही सहज भएकाले मोडल, निर्देशक, प्राविधिकहरुलाई भने राहत भएको शिवको भनाई छ । गायक–गायिकाले गीत रेकर्ड गर्नै छाडे गायक–गायिकाहरुको आम्दानीको मुख्य श्रोत नै मेला–महोत्सव तथा स्टेज कार्यक्रम हो । गीत चलेपछि कार्यक्रममा पनि माग बढ्ने भएकाले गायक–गायिकाले स्टेजलाई लक्षित गरेर गीतहरु निकाल्दै आएका थिए । तर, अहिले गीत चलेपनि स्टेज कार्यक्रममा जान नपाउने भएपछि उनीहरुले गीत नै रेकर्ड गर्न छाडेका छन् । गायक खुमन अधिकारी मेला महोत्सव तथा स्टेज कार्यक्रम कहिलेदेखि हुने अन्योल हुँदा आफ्नै लगानीमा गीत रेकर्ड नगराएको बताउँछन् । उनले भने, ‘अरुका गीत मात्र गाएको छु । त्यो पनि एकदमै कम छ ।’ टिकटक टार्गेट गीत बजारमा सार्वजनिक भएका धेरै लोकदोहोरी गीतहरु पनि टिकटक लक्षित गरेर निर्माण भएका छन् । टिकटक धेरै भन्दा धेरै भन्द आफ्नो गीत हिट भयो भनेर मख्ख पर्नु बाहेक कलाकारसँग अरु विकल्प छैन । टिकटकमा चाडै भाइरल हुने, दुई अर्थ लाग्ने शब्द प्रयोग भएका गीतहरु बढी निर्माण भएका छन् । राम्रा गीतहरु केही मात्रामा बजारमा आएपनि ती गीतमा दर्शक तथा श्रोताको ध्यान गएको छैन । यो शैलीले आफूहरुलाई चिन्तामा पारेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश वीजीको तर्क छ । ‘गीतको एउटा प्लट हुन्थ्यो । सुरुदेखि अन्त्यसम्म एउटा कहानी हुन्थ्यो । तर अहिले केवल टिकटक गर्न मिल्ने वा दोहोरो अर्थ लाग्ने शब्द भएका गीतहरु बढी आएका छन्’ विजी भन्छन्, –‘राम्रा गीत, अर्गानिक गीतहरुको भ्यूज हुँदैन । केही गीतहरु भाइरल भएपनि लगानी उठाएका छैनन् । अहिले गीत बजार पठाउनु भनेको लगानी ‘डुबाउनु’ जस्तै छ ।’ अनलाइनखबरकाे सहयाेगमा ।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update