Erani Mahal
बेलायतमा कोरोना विरुद्धको खोपले मान्यता पायाे
corona
अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना विरुद्धको खोपले आज मान्यता पाएको छ । मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आम मानिसमा खोप वितरण गर्ने बाटो खुलेको हो । बेलायतमा आम मानिसको प्रयोगका लागि मान्यता पाएको कोरोना विरुद्धको यो दोस्रो खोप हो । बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपको अनुमतिले ठुलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकैदिन ५३ हजार संक्रमित थपिएका थिए । सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड–एस्ट्राजेनेका तथा फाइजर(बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने घोषणा गरिसकेको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ । एक डोजको मूल्य दुईदेखि तीन पाउण्डसम्म पर्ने सक्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त खोप पनि फाइजर( बायोएनटेक जस्तै प्रति व्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ । हाल बेलायत लगायत विभिन्न मुलुकमा देखिएको कोरोनाको नयाँ स्वरुपविरुद्ध पनि यो खोप प्रभावकारी हुने बताइएको छ । बेलायत सरकारले अक्सफोर्ड–एस्ट्राजेनेकाको एक सय मिलियन भ्याक्सिन अर्डर गरिसकेको छ, जसमध्ये ४० मिलियन भ्याक्सिन सन् २०२१ मार्चसम्ममा वितरण गरिनेछ । बेलायत सरकारले फाइजर(बायोएनटेकद्वारा विकसित गरिएको खोपलाई सबैभन्दा पहिला अनुमोदन गरेर हाल प्राथमिकताका आधारमा वितरण गरिरहेको छ । बेलायतमा हालसम्म ६ लाख १६ हजारभन्दा बढीले फाइजर खोप लगाइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update