Erani Mahal
प्रम ओलीको संसद बिघटन बिरुद्ध कांग्रेस पाल्पाको तानसेनमा र्‍याली र बिरोधसभा
congress palpa
पाल्पा - केपी शर्मा ओली नेतृत्वको सरकारले संसद बिघटन गरेको बिरोधमा नेपाली कांग्रेसले तानसेनमा र्‍यालीसहित बिरोध गरेको छ । बिरोधसभामा बोल्नुहुँदै नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले ओली सरकारले गैरसंवैधानिक काम गरेकोले त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक बिवादका कारण संविधानमाथि नै कु गर्नु लज्जासपद भएको टिप्पणी गर्नुभयो । ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत विवादमा पारेर संविधानमै नभएको अधिकार प्रयोग गरेकाले कांग्रेस लोकतन्त्र र संविधानको रक्षाका लागि सडकमा आउनु परेको बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले जनताले कम्युनिष्ट पार्टीलाई दुई तिहाईको मत दिएपनि केपी सरकारले उक्त मतलाई अबमुल्यन गरेको आरोप लगाएका थिए । बिरोधसभा कार्यक्रममा जिल्ला सचिव झपेन्द्र गहिरे, अर्का सचिव अजयमान कर्माचार्य, कांग्रेस नेता माधव नेपाल, नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्त, तरुण दलका जिल्ला सभापति मेजरसिंह केसी, नेवि संघका कार्यबहाक सभापति सुरेश बोहोरा, लालकुमारी रानालगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामबहादुर कार्कीको सभापतित्व र सचिव यादवसिंह कार्कीको संचालनमा सम्पन्न भएको थियो । कांग्रेसका नेता तथा कार्यकर्ता तानसेनको टुडिखेल, लहरेपीपल, शित्तलपाटी, सिल्खानटोल लगायतका स्थानमा नाराबाजी सहित बिरोधमा उत्रिएको थियो । कांग्रेसको सभा तानसेनको हुलाकचोकमा भएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update